• २८ पुस २०८१, आइतबार

बेपत्ता छोरा खोजीका लागि आमाको हारगुहार

blog

लकडाउनका समयमा लोकन्थलीबाट हराएका लिसंखुपाखर गाउँपालिका–५ का दामोदर उप्रेती । तस्बिरः गोरखापत्र

चित्र मिजार

सिन्धुपाल्चोक, माघ २३ गते । कोरोना महामारी सङ्क्रमण (लकडाउन) का समयमा भक्तपुरको लोकन्थलीबाट एक्कासि हराएको छोरालाई खोज्नका लागि सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–२ की आमा रुद्रकुमारी उप्रेती बनेपा, धुलिखेल ललितपुर, भक्तपुरलगायतका स्थानमा भौँतारिँदै हिँडिरहनुभएको छ । आफूले मात्रै खोज्दा नभेटिएपछि प्रहरी प्रशासन, सामाजिक सङ्घसंस्था, सरकारी निकाय, व्यक्ति सबैलाई छोरा दामोदर खोजी गरिदिनका लागि आमा रुद्रकुमारीले आग्रह गर्नुभएको छ । 

२५ वर्षका छोरा दामोदर उप्रेती लकडाउनका बेला लोकथन्ली बस्ने दाइ माधवको कोठामा बस्न आएका थिए । दाइको कोठामा बस्दै गर्दा दामोदर बाहिर घुम्नका लागि निस्किए । तर उनी त्यस दिनदेखि न दाइको कोठामा फर्किए, न गाउँको घर लिसंखु नै पुगे । घुम्न निस्किएका दामोदर त्यस दिनबाट अहिलेसम्म कतै नभेटिएपछि आमा रुद्रकुमारी चोक चोक, टोल टोल खोजिरहनुभएको छ । आँखाभरि आँसु लिएर छोरा खोज्दै हिँड्नुभएकी रुद्रकुमारीले लामो समय बित्दा पनि छोरा भेटाउन सकेकी छैनन् । दिनरात छोरा खोज्न हिडें पनि कतै नभेटिएपछि रुद्रकुमारीकाे जीवन अन्धकार भएको छ । उनीको आँखा ओभानो भएको कुनै पल छैन । 

दामोदर सानैदेखि बोल्न नसक्ने तर सुन्न सक्ने छन् । सानैदेखि बौद्धिक अपाङ्गता दामोदरलाई ‘घर कहाँ भनेर सोधेमा वाफल बताउने र दाइको नाम के हो? भनेर प्रश्न गरेमा माधे भनेर उत्तर दिने गरेका छन्’–दाजु माधवले थप्नुभयो । पाँच फिट उचाइ भएका दामोदर  रातो वर्णका छन् । छोरा खोज्न आमा रुद्रकुमारी, दाइ माधव, छिमेकी शुक्र लामालगायत सबै निरन्तर लागिरहेका छन् । प्रहरी, मानव खोजतलास केन्द्र, सरकार सबैलाई आफ्नो छोरा खोजिदिन आमा रुद्रकुमारीले अनुरोध गर्नुभएको छ ।

 कसैले दामोदरलाई देखे भेटेमा उनका दाइ माधव उप्रेतीको मोबाइल नम्बर ९८५११८४४८९ मा सम्पर्क गर्न वा नजिकैको प्रहरी कार्यालयमा बुझाइदिन परिवारजनले अपिल गरेको छ ।