काठमाडाैं, पुस २८ गते । सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलको भूमिका प्रमुख हुने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरुको भूमिका प्रमुख हुने बताउनुभएको हो ।
उहाँले दलले नै यो व्यवस्थालाई प्रभावकारी ढङ्गबाट स्थापित गर्ने जानकारि गराउनुभयाे । उहाँले दलको भूमिकामार्फत् दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवर्द्धन हुने जिकिरसमेत गर्नुभयो ।
उहाँले राजनीतिक दल आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका अभिमतलाई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेकाे बताउनुभयाे । जनताका अभिमतहरु उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल भएको बताउँदै उहाँले लोकतान्त्रिक विधिअनुसार नबनेको राजनीतिक दलहरुमाथि प्रश्न उठ्नु स्वभाविक भएको उल्लेख गर्नुभयाे ।
सभामुख घिमिरेले भन्नुभयो, "संसदीय परिपाटी त्यसमा पनि हाम्रो दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलको भूमिका सर्वप्रथम माथि रहन पुग्छ । दलहरु नै यो व्यवस्थालाई प्रभावकारी ढङ्गबाट स्थापित गर्ने र दलको भूमिकामार्फत् यसलाई प्रवर्द्धन गर्दै अघि जाने कुराहरु हुन्छन् । दल आफैँ यस्तो साधन हो जो, आम जनतालाई ठिक दिशामा लैजानसक्छ र जनताका अभिमतहरुलाई ठिक ढङ्गबाट अभिव्यक्त गर्ने र त्यसलाई निर्णयमा पुर्याउने र परिणाम दिने कामको साधक बनेर जानसक्छ । तर उ आफैँ लोकतान्त्रिक विधिअन्तर्गत बनेको छैन, उसको प्रणालीहरु लोकतान्त्रिक छैनन्, उसले सूचना सम्बन्धीको कामलाई व्यवस्थित गर्नको लागि आफूलाई नै त्यसरी व्यवस्थित गरेको छैन भने यसमाथि प्रश्न उठ्नु स्वभाविक छ ।"