• १३ असोज २०८१, आइतबार

प्रदेशमा पनि सुरक्षण मुद्रणको सुनिश्चितता गर्नुपर्छः मन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ।

काठमाडौं, माघ २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण विधेयकबाट प्रदेशका विषयवस्तुहरु हटाएर प्रदेशको अधिकार स्थापित गराउनुपर्ने बताउनुभएको छ । सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सोमबार समितिमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा संशोधनकर्ता सांसदहरुले आफ्नो धारणा राख्नुभएको थियो । सोही विषयमा मन्त्री शर्माले सङ्घीयतासँग सम्बन्धित कुरामा संविधानले प्रदेशको अधिकार क्षेत्र भनेर तोकिएका विषयहरु सुरक्षण मुद्रण विधेयकमा भए विधेयकबाट हटाएर प्रदेशलाई नै अधिकार दिनुपर्ने बताउनुभयो ।

उहाँले ड्राइभिङ लाइसेन्सको विषय प्रदेश सरकारलाई दिने भनिएकाले प्रदेशलाई छोड्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सङ्घीयतासँग सम्बन्धित कुरामा हाम्रो संविधानले प्रदेशको अधिकार क्षेत्र भनेर तोकिएका केही विषय यहाँ छन् भने त्यो यहाँबाट हटाउँ । मैले देखेको ड्राइभिङ लाइसेन्स चाहिँ हो कि जस्तो लाग्छ प्रदेशमा दिने भनिएको । अरु कुरा सुरक्षण मुद्रणभित्र जेजे चिज छन्, त्यो प्रदेशको अधिकार क्षेत्रभित्र सम्भवतः छैनन् भन्ने लाग्छ । संविधान हेरौँ, त्यस्तो केही भएको रहेछ भने त्यसलाई हटाउन सकिन्छ ।’’

समितिको बैठकमा सांसदहरुले प्रदेशलाई संविधानले दिएको अधिकार प्रदेशमा नै हस्तान्तरण गर्नेगरी ऐन निर्माण गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले सङ्घबाटै प्रदेश सरकारका अधिकारका विधेयकहरु पारित गर्दै जाने हो भने सङ्घीयताको औचित्य समाप्त हुने बताए ।