• २८ पुस २०८१, आइतबार

बाह्रबिसे सबस्टेसन निर्माणमा तीव्रता

blog

काठमाडौँ, माघ २२ गते । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ । दुई महिनाभित्र सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका कामहरू भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

ग्यास इन्सुलेटेड (जिआइएस) प्रविधिमा आधारित सो सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसकेका छन् भने २२०/१३२ केभी, १६० एमभिए र १३२/११ केभी, पाँच एमभिएका पावर ट्रान्सफर्मरहरू पनि राखिसकिएको र नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिने छ । यसका लागि आयोजनाले आफ्नो विद्युत्गृहको स्विचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरू तयार भइसकेका छन् भने करिब दुई किलोमिटर तार पनि तानिएको छ । 

आयोजनाले बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण दुई किलोमिटर तार तान्न सकिरहेको छैन । प्राधिकरणले मध्य भोटेकोशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ । 

हाल मध्य भोटेकोशी जलविद्युत् आयोजनाका संरचनाहरूको परीक्षण जारी छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोली शनिबार सबस्टेसन निर्माणस्थल अनुगमनमा गएको थियो । 

टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिका, प्रसारण लाइनमा भइरहेको अवरोध हटाउन स्थानीयसँग छलफल गरेको थियो । साथै टोलीले मध्य भोटेकोशी जलविद्युत् आयोजनाको पनि भ्रमण गरी हाल भइरहेका परीक्षणका कार्यहरूको जानकारी लिएको थियो । 

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकेर खेर जाने अवस्था आउन नदिन बाह्रबिसे सबस्टेसन जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ । कार्यकारी निर्देशक घिसिङले जनशक्ति अझै थप गरी दुई महिनाभित्रमा सबस्टेसन निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो ।  

बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादन, कोभिड–१९ महामारीलगायतका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ । 

तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । एसियाली विकास बैङ्कको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको छ ।  

तामाकोशी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४२ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने ११८ वटा टावरमध्ये आठ वटाको मात्र निर्माण बाँकी छ । त्यसमध्ये सात वटा टावर सिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नुपर्ने छ ।