• १३ साउन २०८१, आइतबार

गाई–भैसीको बाँझोपन न्यूनीकरण गर्न गोठमै उपचार

blog

कृषकको गोठमै गाईभैंसीको स्वास्थ्य परीक्षण गरिँदै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, माघ २१ गते । गुल्मीमा गाई–भैसीमा देखापर्ने बाँझोपन न्यूनीकरण गर्न कृषकको गोठमै उपचार सेवा प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीले २३ वटा गाई र ३१ वटा भैंसी गरी कुल ५४ गाई–भैसीको बाँझोपन न्यूनीकरण गर्न किसानको गोठमै गएर सेवा प्रदान गरेको छ । 

जिल्लाको रेसुङ्गा र मुसिकोट नगरपालिका, चन्द्रकोट, सत्यवती र कालीगण्डकी गाउँपालिका गरी ५४ गाई–भैंसीमा बाँझोपन न्यूनीकरण गर्न सेवा प्रदान गरिएको कार्यालय प्रमुख हुमकान्त पाण्डेयले जानकारी दिनुभयो । 

कृषकले पालेका गाई–भैंसीमा देखापर्ने समस्याको प्रत्यक्ष भेटघाट भएर डोर–टु–डोर सेवा प्रदान गर्ने हुँदा यो कार्यक्रम प्रभावकारी भएको कार्यालयले जनाएको छ । गाईभैंसीको प्रजनन अङ्गका साथै गर्भ परीक्षण, प्रजनन तथा सम्बन्धित रोगको निदान तथा उपचार, आवश्यक परामर्श र निःशुल्क औषधी समेत वितरण गरिएको पाण्डेयले बताउनुभयो ।

कृषकको गोठमै गएर सेवा प्रदान गर्दा गाई–भैंसीको पनि भिडियो एक्सरे हुँदोरहेछ भन्ने आफूहरुलाई थाहा भएको कृषकले बताएका छन् । मानिसलाई जस्तै गाभैंसीलाई पनि निरन्तर रुपमा चेकजाँच र औषधीको आवश्यकता पर्ने थाहा भएकाले निरन्तर रुपमै चेकजाँच गर्ने र औषधी खुवाउन आफूहरु लाग्ने कृषकले बताउने गरेको कार्यालयको भनाइ छ । 

पशु स्वास्थ्य सेवा कार्यक्रमका लागि दुई लाख रुपियाँ बजेट रहेको कार्यालयले जनाएको छ । अहिले चेकजाँच गरिएका ५४ गाईभैसीको पुनः एक पटक चेकजाँच गरिने कार्यक्रम रहेको पाण्डेयले बताउनुभयो ।