• १३ साउन २०८१, आइतबार

दक्ष जनशक्तिको अभावले चियाखेती अलपत्र

blog

चियाखेती । फाइल तस्बिर

पर्वत, माघ २० गते । दक्ष जनशक्तिको अभावमा जिल्लाको महाशिला गाउँपालिका-६ फलामखानीमा लगाइएको चियाखेती अलपत्र बनेको छ । साबिक धौलागिरि अञ्चलमा नै पहिलो पटक सुरु गरिएको व्यावसायिक चियाखेतीबाट वार्षिकरुपमा लाखौँको आम्दानी गर्न सकिने भएपनि प्राविधिक तथा तालिम प्राप्त जनशक्ति नहुँदा अलपत्र जस्तै बनेको हो । 

झन्डै डेढ दशकअघि लगाइएको चियाखेतीबाट पहिला पटक दुई वर्षअघि १० किलोग्राम जैविक चिया उत्पादन गरिएको भए पनि चियाको मुना टिप्ने र प्रशोधन गर्ने जनशक्ति नभएपछि पुनः अलपत्र जस्तै बनेको वडा नम्बर ६ फलामखानीका वडाध्यक्ष गोविन्दबहादुर विकले जानकारी दिनुभयो । 

यहाँ १४ हजारभन्दा बढी चियाका बोट रहेका छन् । वि.सं.२०६७ मा तत्कालीन जिल्ला विकास समितिको सहयोगमा सुरु गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरनमा परिणत भएको थियो । उतिबेला २० हजार बिरुवा लगाइएकामा संरक्षणको अभावमा झण्डै १० हजार मात्रै कायम रहेका थिए । दुई वर्षअघि थप चार हजार गरी १४ हजारभन्दा बढी बोट उत्पादनका लागि तयार भएपनि मुना टिप्न र प्रशोधन गर्न जनशक्ति नहुँदा अलपत्र बनेको विकले बताउनुभयो । 

गाउँपालिकाले आगामी वर्ष थप ४० हजार बिरुवा रोप्ने गरी नर्सरीसमेत तयार गरेको अध्यक्ष विकले बताउनुभयो । चार वर्षअघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थाले पनि उत्पादन गरेर आम्दानी गर्न भने नसकिएको विकले बताउनुभयो । साबिक फलामखानी गाविसको वडा नम्बर ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती सुरु गरिएको थियो ।

इलामको जस्तै हावापानी भएकाले यहाँ चियाखेतीको सम्भावना रहेको छ । इलामको जस्तै व्यावसायिक चियाखेती विस्तार गर्ने उद्देश्यले योजना सुरु गरिए पनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो । करिब १८ सय मिटरको उचाइमा रहेको साबिक फलामखानी गाविसलाई चियाखेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका बिरुवा रोपिएको थियो । 

नगदेबालीका रूपमा चिया खेतीलाई प्रवर्द्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविसले ६० रोपनी क्षेत्रफलमा चियाखेतीको सुरुआत गरेको थियो । साबिकको गाविस-४ र ५ नम्बर वडामा लगाएका बिरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भए पनि वडा नम्बर ७, ८ र ९ मा भने बिरुवा जीवितै रहेका थिए । अहिले स्थानीय समुदाय चियाखेतीतर्फ आकर्षित हुन थालेका छन् । आगामी वर्ष थप ४० हजार बिरुवा रोपेपछि यसलाई व्यावसायिकरुपमा उत्पादन तथा प्रशोधनसमेत गरिने गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो । 

गाउँपालिकाले बर्सेनि यसको विकासका लागि रकम विनियोजन गर्दै आएको छ । गत वर्ष गण्डकी प्रदेशबाट लक्षित कार्यक्रमअन्तर्गत विनियोजन भएको २० लाखबाट चियाबगानको संरक्षणका लागि तारजाली लगाउने, गोडमेल गर्ने र नर्सरी स्थापना गर्ने काम भएको पालिकाले जनाएको छ । रासस