गोरखापत्र अनलाइन
काठमाडौं, माघ २० गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्र गरिरहेको बताउनुभएको छ । सत्तामा पुग्ने र सत्तामा अडिरहने बाहेक सत्तारुढ गठबन्धनले देश र जनताको पक्षमा काम नगरेको उहाँको आरोप छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा शनिबार आयोजित पार्टी संसदीय दलको बैठकमा उहाँले सो आरोप लगाउनुभएको हो । सत्तारुढ गठबन्धनले सत्तामा अडिने बाहेक अरू कुनै राजनीति नगरेको उहाँले दाबी गर्नुभयो । देशको निम्ति केही गर्नेभन्दा पनि सत्तारुढ गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीतिक चलखेल गरिरहेको ओलीले बताउनुभयो । उहाँले सरकारले दिगो विकास लक्ष्य विपरीत रेमिटयान्सको भर परेर देश चलाउने सोच लिएको चर्चा गर्नुभयो । अध्यक्ष ओलीले सरकारले जाजरकोट लगायत क्षेत्रमा भूकम्पपीडितको पक्षमा अझै आवास निर्माणको काम गर्न नसकेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘देशको अवस्था नाजुक छ । जनताको अवस्था नाजुक छ । युवा विदेश पलायन भइराखेका छन् । उनीहरूलाई रोक्ने योजना बनाउनुभन्दा रेमिटयान्सबाट सरकार आनन्द मानिरहेको छ । रेमिटयान्सबाट सरकार चलाउन पाइएको छ भनेर सरकार खुसी भएको छ ।’ रेमिट्यान्सबाट देश चलाउनेजस्तो घातक काम अरू केही नभएको उहाँले बताउनुभयो । कथमकदाचित कुनै हिसाबले कुनै दिन रेमिटयान्स बन्द भयो भने देशको आर्थिक अवस्था ध्वस्त हुने उहाँले बताउनुभयो ।
दिगो विकास लक्ष्य भेट्न भनेर हामी हिँडिरहेका छौँ । रेमिटयान्स अर्थतन्त्र भनेको दिगो विकास नहुने उहाँले बताउनुभयो । हिँड्नुपर्ने बाटोमा सरकार हिँड्न नसकेको उहाँको भनाइ छ । “जानुपर्ने राजनीति एकातिर छ । सरकार बन्ने, बनाउने, टिकाउने त्योभन्दा परतिर राजनीति नै भएन । यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म मात्र भयो” उहाँले भन्नुभयो ।
सरकारको लापरबाहीका कारण सिँगै हिउँदभरी जनताहरू प्लास्टिकमुनि बस्नुपरेको उहाँले बताउनुभयो । भूकम्प पीडितका लागि हाम्रो भोलेन्टियर्सले १२–१५ सय घर बनाएर हस्तान्तरण गरे । सरकारले के ग¥यो ? उहाँले जिज्ञासा गर्नुभयो । अध्यक्ष ओलीले सरकारले जनताको पीरमर्कामा साथ दिने काम नगरेको टिप्पणी गर्नुभयो ।