• १३ साउन २०८१, आइतबार

४६ करोड ७२ लाखको सुन्तला बिक्री

blog

बिक्रीका लागि तयार पारिएको स्थानीय सुन्तला । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, माघ २० गते । पाल्पामा सुन्तला उत्पादन घटे पनि यो वर्ष ४६ करोड बढीको निकासी भएको छ । जिल्लाको विभिन्न स्थानबाट ४६ करोड ७२ लाख रुपियाँको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । गत वर्ष ४३ करोड ३५ लाखको सुन्तला बिक्री भएको थियो । 

गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन कम भए पनि सुन्तलाले राम्रो भाउ पाउँदा जिल्लामा भित्रिने रकम बढेको हो । पाल्पामा गत वर्ष नौ हजार ३१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । किसानले गत वर्ष सरदरमा प्रतिकिलो ४० देखि ४६ रुपियाँमा सुन्तला बिक्री गरेका थिए । 

यो वर्ष भने सरदरमा ५५ देखि ६० रुपियाँमा सुन्तला बिक्री गरेको ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो । उत्पादनमा यो वर्ष थोरै ह्रास आए पनि बजारमा राम्रो भाउ पाउँदा किसानले पाउने रकम बढेको चौधरीले बताउनुभयो । उहाँका अनुसार यो वर्ष आठ हजार ८६१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । 

जिल्लाको रैनादेवी छहरा, रिव्दीकोट, तानसेन, बगनासकाली, पूर्वखोला, माथागढीमा सुन्तला उत्पादन हुन्छ । ती स्थानबाट बुटवल, पोखरा, भैरहवा, चितवन लगायतका स्थानमा सुन्तला निकासी हुनेगरेको रैनादेवी छहरा –५, मुझुङ्का किसान रामबहादुर कार्कीले बताउनुभयो । 

किसानले सुन्तला किन्ने व्यापारीलाई आफ्नै बारीमा बोलाएर गत मङ्सिरदेखि नै सुन्तला विभिन्न स्थानमा निकासी गरेको उहाँले बताउनुभयो । रैनादेवी छहराको चार वटा वडाबाट मात्र दश करोड बढीको सुन्तला बाहिर निकासी हुने उहाँले बताउनुभयो । यस क्षेत्रका अधिकांश किसानले सुन्तला बिक्रीबाट दुई लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी गरेका छन् । 

गत वर्षको तुलनामा यो वर्ष सुन्तलाको भाउ राम्रो पाउँदा पाल्पाका किसान समेत खुसी छन् । यो वर्ष मङ्सिरदेखि नै सुन्तलाको भाउ स्थिर रहेको र किसानले बोटबाटै सुन्तला बिक्री गरेको रैनादेवी छहरा –४, का किसान टिकाराम पोखरेलले बताउनुभयो । 

पोखरेलले यो वर्ष ६५ रुपियाँदेखि ७५ रुपियाँमा सुन्तला बिक्री गरेको उहाँले बताउनुभयो । कम मिहिनेतमा पनि राम्रो आम्दानी गर्न सकिने भएपछि पछिल्लो समय यहाँका अधिकांश किसान सुन्तला खेतीप्रति आकर्षित भएको उहाँले बताउनुभयो । पाल्पामा एक हजार १७५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदैआएको छ । हरेक वर्ष सुन्तला उत्पादन हुने क्षेत्रफल बढ्ने क्रममा रहेको ज्ञान केन्द्रले जनाएको छ ।