नवराज श्रेष्ठ
रामेछाप, माघ २० गते । रामेछापमा यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत छ सय जनाभन्दा बढी बेरोजगार नागरिकले न्यूनतम एक सय दिन बराबरको रोजगारी पाउँदै छन् । चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका दुई नगरपालिका र छ वटा गाउँपालिकाको ६४ वटा वडाका बेरोजगार सूचीकृत भएका आठ हजार २३७ मध्ये ६३८ नागरिकले न्यूनतम एक सय दिनको रोजगारी पाउने भएका हुन् । चालु आवको सात महिना बित्नै लागे पनि जिल्लाका अधिकांश पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सञ्चालन हुने योजनाको प्रगति न्यून छ । बेरोजगार सूचीकृत नागरिकलाई पालिकाले सडक, वातावरण संरक्षण, खानेपानी, पूर्वाधार विकासलगायतका क्षेत्रमा रोजगारी दिइरहेका छन् ।
मन्थली नगरपालिकामा कामले गति लिएन
मन्थली नगरपालिकामा कार्यक्रममार्फत सञ्चालन हुने योजनाको कामले अझै गति लिन सकेको छैन । १४ वटा वडा रहेको मन्थली नगरपालिकामा यस कार्यक्रम अन्तर्गत सञ्चालित योजना सम्पन्न गर्न माघ महिनाभित्र सर्वेको काम सक्ने तयारी गरेको छ । मन्थली नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार संयोजक रक्षित रेग्मीले अहिले ११ नं. वडामा काम सुरु भएको र अन्य वडामा धमाधम सर्वेको काम भइरहेको बताउनुभयो । मन्थली नगरपालिकामा चालु आवमा यस कार्यक्रमका लागि ५२ लाख ८५ हजार रुपियाँ बजेट प्राप्त भएको र ८८८ जना बेरोजगार व्यक्ति सूचीकृत भएका छन् । नगरपालिकालाई प्राप्त बजेट अनुसार करिब ८० जना सूचीकृत बेरोजगार व्यक्तिले एक सय दिनको न्यूनतम रोजगारी पाउने रोजगार संयोजक रेग्मीले बताउनुभयो ।
रामेछाप नगरपालिकाको केही केही वडामा कार्यक्रम अन्तर्गत सञ्चालन हुने योजनाको सम्झौता हुन बाँकी छ भने केही वडामा काम सुरु भइसकेको छ । नौ वटा वडा रहेको यस पालिकामा चालु आवमा सूचीकृत बेरोजगारलाई न्यूनतम रोजगारी सुनिश्चितताका लागि प्राप्त भएको ४६ लाख ८३ हजार रुपियाँ बजेटबाट ७० जना बेरोजगारलाई एक सय दिनको रोजगारी प्रदान गरिने कार्यव्रmमका प्राविधिक सहायक सोनिका तामाङले बताउनुभयो । चालु आवमा यो नगरपालिकामा ५९१ जना व्यक्ति बेरोजगार सूचीकृत भएकोमा सूचीकृत नागरिकले दैनिक ६६८ रुपियाँ ज्याला पाउने छन् ।
लिखुतामाकोशी गाउँपालिकामा यस कार्यव्रmममार्फत चालु आवमा आठ वटा योजना सम्पन्न हुनुपर्ने छ । यी योजना सञ्चालनका लागि गाउँपालिकालाई ५२ लाख ८३ हजार रुपियाँ बजेट प्राप्त भएको छ । सात वटा वडा रहेको लिखुतामाकोशी गाउँपालिकामा सबै वडाको सात वटा योजनाको सम्झौता भई काम सुरु भइसकेको गाउँपालिकाकी रोजगार सहायक ममिता तामाङले बताउनुभयो । लिखुतामाकोशी गाउँपालिकामा चालु आवका लागि ६०५ जना बेरोजगार सूचीकृतका भएकोमा ७७ जनालाई न्यूनतम एक सय दिन बराबरको रोजगारी प्रदान गरिने तामाङले बताउनुभयो । यो गाउँपालिकामा बेरोजगार सूचीकृत भएका नागरिकले एक दिन बराबर ६८४ रुपियाँ ज्याला पाउँछन् ।
सुनापति गाउँपालिकामा यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १९ वटा योजना छनोट भएका छन् । पाँच वटा वडा रहेको यो गाउँपालिकामा १० लाख रुपियाँसम्मका योजना छन् । अहिलेसम्म केही वडामा काम सुरु भएको गाउँपालिकाका रोजगार संयोजक कर्ण रसाइलीले बताउनुभयो । उहाँका अनुसार चालु आवमा कार्यव्रmममार्फत ५२ लाख रुपियाँ बजेट प्राप्त भएको छ भने ५० लाख रुपियाँ गाउँपालिकाले बजेट विनियोजन गरेको छ । उहाँले भन्नुभयो, “सुनापति गाउँपालिकामा चालु आवमा ७१० जना बेरोजगार सूचीकृत भएकामध्येबाट ७६ जनाले एक सय दिनको रोजगारी पाउँछन् ।” उहाँका अनुसार गाउँपालिकाले विनियोजन गरेको ५० लाख बजेटबाट निर्माण सामग्री खरिद गरिने छ । यो गाउँपालिकामा बेरोजगार सूचीकृत भएका नागरिकले एक दिन बराबर ६८४ रुपियाँ ज्याला पाउने छन् । दोरम्बा शैलुङ गाउँपालिकाले चालु आवमा बेरोजगार सूचीकृत भएका ५०२ जनामध्ये ७६ जनालाई कार्यक्रममार्फत एक सय दिनको रोजगारी दिने लक्ष्यका साथ काम अगाडि बढाएको छ । सात वटा वडा रहेको यो गाउँपालिकालाई चालु आवमा सूचीकृत बेरोजगारलाई रोजगारीका लागि ४२ लाख रुपियाँ बजेट प्राप्त भएकोमा चार लाख रुपियाँदेखि आठ लाख ८३ हजार रुपियाँसम्मका आठ वटा योजना छनोट भएको गाउँपालिकाका श्रम संयोजक भोला पाठकले बताउनुभयो । उहाँका अनुसार अहिले यो कार्यक्रममार्फत सञ्चालन हुने योजनाको सर्वे गर्ने र निर्माण उपभोक्ता समिति गठनको काम भइरहेको छ । यो गाउँपालिकामा बेरोजगार सूचीकृत नागरिकले काम गरेबापत दैनिक ६८४ रुपियाँ ज्याला पाउँछन् ।
उमाकुण्डमा ६० प्रतिशत प्रगति
आठ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी प्रगति उमाकुण्ड गाउँपालिकामा भएको छ । सात वटा वडा रहेको उमाकुण्ड गाउँपालिकामा चालु आवमा कार्यक्रमका लागि आएको ६६ लाख रुपियाँ बजेटबाट काम गर्न २३ वटा योजना छनोट भएका छन् । तीमध्ये चार वटाको काम सम्पन्न भई भुक्तानी भइसकेको बाँकी योजनाको पनि ६० प्रतिशत काम सम्पन्न भएको रोजगार संयोजक दीपकप्रकाश सुनुवारले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा चालु आवमा एक हजार छ सय जना न्यूनतम रोजगारीका लागि सूचीकृत भएकामध्ये ८६ जनाले एक सय दिन बराबरको रोजगारी पाउने छन् । उनीहरूले एक दिन बराबर ७२० रुपियाँ ज्याला पाउँछन् ।
गोकुलगङ्गा गाउँपालिकामा चालु आवमा यस कार्यव्रmममार्फत २६ वटा योजना छनोट भएकोमा नौ वटा योजनाको ६० प्रतिशत काम सम्पन्न भइसकेको र अरू योजना सम्झौताको क्रममा रहेको गाउँपालिकाका रोजगार सहायक रामकुमार कार्कीले बताउनुभयो । उहाँका अनुसार छ वटा वडा रहेको यो गाउँपालिकामा चालु आवमा कार्यव्रmमका लागि ६१ लाख ८३ हजार रुपियाँ बजेट आएकोमा ५० हजार रुपियाँदेखि पाँच लाख ५० हजार रुपियाँसम्मका २६ वटा योजना बनेका छन् । चालु आवमा रोजगारीका लागि यो गाउँपालिकामा दुई हजार १९ जना नागरिक बेरोजगार सूचीकृत भएकोमा ९० जनाले न्यूनतम एक सय दिन बराबरको रोजगारी प्राप्त गर्ने रोजगार सहायक रामकुमार कार्कीले बताउनुभयो । उता खाँडादेवी गाउँपालिकामा ८१ जना सूचीकृत बेरोजगारलाई एक सय दिनको रोजगारी दिन ५५ लाख २९ हजार रुपियाँ बजेट प्राप्त भएको रोजगार संयोजक विपिन केसीले बताउनुभयो । उहाँका अनुसार यो गाउँपालिकामा चालु आवका लागि एक हजार ३२२ जना नागरिक बेरोजगार सूचीकृत भएका छन् । यस गाउँपालिकामा कार्यव्रmम सञ्चालन हुने योजनाका लागि केही वडामा सर्वे गर्ने काम भइरहेको रोजगार संयोजक कार्कीले बताउनुभयो ।