• १३ असोज २०८१, आइतबार

पुरुष र नारी प्रकृतिका सुन्दर उपहार

blog

राहुल यशोधरा संवाद नेपाली साहित्यका प्रतिभाशाली स्रष्टा लालगोपाल सुवेदी (२०२७) द्वारा रचना गरिएको एक सशक्त गीति नाटक सङ्ग्रह हो । यसमा बौद्ध मिथकसँग सम्बन्धित राहुल यशोधरा संवाद र अँगुलीमाल गरी दुई वटा गीति नाटक सङ्गृहीत छन् भने अर्को योगमाया र धर्मसभा गीति नाटक चाहिँ ऐतिहासिक विषयवस्तुमा आधारित छ । गीत, सङ्गीत र अभिनय कलाको त्रिवेणी नै गीति नाटक हो । गीति नाटकमा गीतले नै आख्यान तन्तुलाई पनि डोहो-याएको हुन्छ । नेपाली साहित्यमा नारायणभक्त श्रेष्ठ, माधव घिमिरे’ जस्ता अग्रज स्रष्टाहरूबाट लिखित सिम्मा (२०३८), मालती मङ्गले (२०३९), जस्ता गीति नाटकले यस विधालाई लोकप्रियताको उचाइमा पुर्‍याएका हुन् । पछिल्लो कालखण्डमा प्रकाशित यस कृतिबाट सुवेदी पनि एक सशक्त गीति नाटककारका रूपमा देखा परेका छन् ।

यस गीति नाटक सङ्ग्रहमा रहेको राहुल यशोधरा संवाद गीति नाटक नै प्रमुख नाटक हो । कोष्ठकमा दिएको परिवेशसूचक गद्यांशबाहेक यस गीति नाटकमा ३० वटा गीत छन् भने मनोवाद, आत्मालाप, समूहगायनबाहेक नाटकभरि जम्मा १२६ वटा गीतिसंवाद छन् । सिद्धार्थ गौतम जन्मिँदा ज्योतिषीले ठुलो साधु वा वैरागी बन्ने कुरा बताएका थिए । उहाँ त्यस्ता नहोऊन् भनेर दरबारभित्रै भोगमय जीवनमा रमाउन अभ्यस्त गराउन थालियो । तापनि एकदिन नगर भ्रमणमा निस्केका बेला उहाँले एउटा लास, वृद्ध मानिस र रोगीलाई देख्नुभयो । यसबारे सिद्धार्थले आफ्ना सारथिसँग जिज्ञासा राख्नुभयो । सारथिले मानिस वृद्ध पनि हुन्छ, रोगी पनि हुन्छ र एकदिन मर्नु पनि पर्छ भनेर सम्झाइदिएपछि सिद्धार्थका मस्तिष्कमा दुःखमय संसारबाट मुक्तिको मार्ग के हुन सक्ला भन्ने प्रश्न मडारिन थाल्यो । यसै घटनाले सिद्धार्थ पछि महात्मा गौतम बुद्ध बन्नुभयो । यसै विषयवस्तुलाई वर्तमान समयको परिवेश सुहाउँदो ढङ्गले नारीवादी चिन्तन र बाल अधिकारका कोणबाट यस गीति नाटकमा प्रस्तुत गरिएको छ ।

कपिलवस्तुको दरबारमा सिद्धार्थले मानिसको घर र राजाको दरबार दुवै पिन्जरा भएको, लोभ र मोहको दाम्लाले बाँधिएर मानिस बँधुवा पशुझैँ भएको अनि जन्मदा चराजस्तो स्वतन्त्र मानिस तृष्णाले विचरा बन्न पुगेको भाव व्यक्त गरेसँगै प्रस्तुत गीति नाटक आरम्भ भएको छ । दोस्रो, तेस्रो र चौथो गीतमा दरबारको बगैँचामा सिद्धार्थ र यशोधराबिच भएको संवाद छ । यशोधराले पुरुष (आकाश) र नारी (धर्ती) प्रकृतिका सुन्दर उपहार हुनाले दुवैको मिलनबाट संसार प्रेममय भएको विचार व्यक्त गर्नुभएको छ । सिद्धार्थ र आफ्नो जन्म एकै दिन वैशाख पूर्णिमामा भएको सन्दर्भ कोट्याउँदै आफू पूर्वजन्ममा पनि सिद्धार्थकै पत्नी भएकी र यस जन्ममा पनि उहाँकै पत्नी भएकाले सिद्धार्थका लागि जस्तोसुकै त्याग गर्न तयार हुँदा हुँदै पनि प्रियतम् सिद्धार्थका मुहारमा खुसी छाउन नसकेकोमा आफूलाई आश्चर्य लागेको कुरा व्यक्त गर्नुहुन्छ । तर सिद्धार्थ सबैभन्दा ठुलो दुःख मानिसको आफ्नै अङ्कार भएको कुरा उल्लेख गर्दै सारा संसारको दुःख हटाई सबका मनमा सुख ल्याउन दरबार छोड्न मन लागेको कुरा बताउनुहुन्छ । 

कल्प कल्प थपिदै छ दुःख माथि दुःख । 

कस्तो गरी ल्याऊँ, प्यारी ! सबका मनमा सुख ? 

पाँचौं गीतमा यशोधराले सिद्धार्थलाई हजुरको नासो भोलिको चक्रवर्ती सम्राट आफ्ना पेटमा हुर्कदै गरेको कुरा बताएर खुसी हुन आग्रह गर्नुहुन्छ । छैटौँ गीतमा राहुलको जन्म भएको छ भने सातौँमा सबैले खुसी मनाउँदै राहुलको मुख हेर्छन् र काखमा लिन्छन् । राहुलको मुख हेरेपछि शुद्धोदन आफ्नो बुढेसकालको सहाराका रूपमा देख्छन् भने गौतमी छोराको प्रेम नातिमा सरेको भाव व्यक्त गर्नुहुन्छ । यशोधरा राहुलका रूपमा आफ्नो पुनर्जन्म भएको अनुभूति गर्नुहुन्छ तर सिद्धार्थ छोराको जन्मबाट सुखी र दुःखी दुबै हुनुहुन्न । उहाँको यस्तो तटस्थता सबैका लागि आश्चर्यको विषय बन्न पुग्छ । अन्ततः रातको समयमा विस्तारै यशोधराको खोपीमा पुगेर यशोधरा र राहुलको मुख हेरेर सिद्धार्थ दरबार त्यागेर आफ्नो बाटो लाग्नुहुन्छ । सिद्धार्थको वनगमनपछि दरबार शून्य भएको, मानिसहरू निराश भएका, र घोडासमेत उदास भएको प्रसङ्ग छ । सिद्धार्थले दरबार त्याग्नुका पछाडि आफू दोषी रहेको कुरा शुद्धोधनले गर्नुभएको छ भने यशोधराले राम्रो कामका लागि दरबार छाडेकाले दुःखी नहुन अनुरोध गर्नुहुन्छ । यशोधराका बाबु दण्डपाणि छोरीले दुःख पाएकामा व्रmोधित हुन्छन्, तर आमाले भाग्यको खेल र दैवको लीला बुझिनसक्नु भएको बताउनुभएको छ । बाबुआमाले सँगै लान खोज्दा यशोधरा अस्वीकार गर्नुहुन्छ । क्रमशः राहुल पनि हुर्कदै जान्छन् ।

सिद्धार्थको वनगमनपछि एक्ली बन्नुभएकी यशोधराको रूप र सौन्दर्यबाट आहत बनेका एकजना राजकुमारले सिद्धार्थ जोगी भइसकेकाले आफूलाई प्रेमी बनाएर आफ्ना इच्छा आकाङ्क्षा पूरा गर्न आग्रह गर्न पुग्छन् । उनको आग्रहलाई आफू मात्र सिद्धार्थकी भएको कुरा बताउँदै यशोधराले ठाडै अस्वीकार गर्नुहुन्छ । हजुरबा शुद्धोदन नाति राहुललाई लिएर दरबारभित्रकै बगैंचामा पुग्नुहुन्छ । राहुल पिंजडामा बन्दी बनाइएको सुँगालाई छोड्न आग्रह गर्छन् तर हजुरबा उडेर आकाशतिर जाने भएकाले छोड़न नहुने कुरा गर्छन् । हजुरबा शुद्धोदनको यो जवाफ राहुललाई मन पर्दैन । उहाँ पन्छीको स्वतन्त्रता र बालकको स्वतन्त्रता उनीहरूको अधिकार भएको तर्क पेस गर्छन् ।

नाटकको २९ औँ गीतमा ज्ञान प्राप्त गरेर सिद्धार्थ बुद्ध दरबारमा आएको समाचार फैलिन्छ । राहुल आमा यशोधरासँग आफ्ना पिता कस्तो हुनुहुन्छ ? पितालाई भेट्ने असाध्यै ठुलो रहर छ । बोल्नुभन्दा पहिले के गर्नुपर्छ भनी प्रश्न गर्छन् । यशोधरा सिद्धार्थ ३२ गुणले युक्त हुनुहुन्छ, संसारमै अलग हुनुहुन्छ, उहाँलाई चिन्न गाह्रो छैन । तिमीले भेटेपछि विनम्रतापूर्वक यसो गर्नु भनेर अह्राउनुहुन्छ : 

शिर अलि झुकाएर जोर दुई हात 

नीलकमलको फूल उनको हातमा राख ।

भनिदेऊ पितालाई पाऊँ लाडप्यार

दिनोस् भन सम्पति र बालअधिकार ।।

 ३० औँ गीतमा राहुल पिता सिद्धार्थलाई भेटेर आमाले भनेअनुसार नै गर्छन् । बुद्ध राहुललाई अँगालोमा लिन्छन्, कमण्डलुबाट कमलको फूल झिकेर राहुलको हातमा राखिदिन्छन् र नाटक सकिन्छ । 

निष्कर्षमा यस गीति नाटक मा सिद्धार्थलाई दरबार भित्रै भोगविलासयुक्त जीवनमा बाँच्न अभ्यस्त गराउनु, बाहिरी दुनियाँबाट अलग गराउने प्रयास गर्नु, सिद्धार्थले दुःखमय संसारका बारेमा बुझ्नु, राहुलकोे जन्म, सिद्धार्थ गौतमको गृहत्याग, ज्ञान प्राप्ति र पुनरागमनसम्मका परिघटनालाई प्रस्तुत गरिएको छ । त्यस्तै सिद्धार्थ पत्नी यशोधरामा पाइने धैर्य, विवेकशीलता, संयमले गीति नाटक लाई जीवन्तता प्रदान गरेका छन् । यशोधराको पुत्रवात्सल्य, पारिवारिक दायित्वबोध एवम् जीवनबोधयुक्त चरित्रले नाटकलाई गतिशील तुल्याएको छ । यशोधराको विरहजन्य पीडा, मातृवात्सल्य, राहुलको स्वतन्त्रताको चाहना र बाल अधिकार नै यस गीति नाटक का मुख्य विषय हुन् । नाटककमा बुद्धको महानतालाई भन्दा पनि यशोधराको त्याग र राहुलको बालअधिकार हननको विषयलाई विशेष महत्वका साथ प्रस्तुत गरिएको छ । नेपाली गीति नाटक का क्षेत्रमा प्रस्तुत कृति निकै स्तरीय, पठनीय र सङ्ग्रहणीय रहेको देखिन्छ ।

   

Author

हेमराज अधिकारी