• ८ मंसिर २०८१, शनिबार

‘जनयुद्ध’मा आधारित चलचित्रहरु

blog

दस वर्ष लामो सशस्त्र युद्ध विश्राम गरेर तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) २०६३ सालमा शान्तिप्रक्रियामा सहभागी भएपछि माओवादी जनयुद्धमा आधारित चलचित्र धमाधम बन्न थाले । कतिले माओवादीले उठाउँदै आएका मुक्तिका सन्दर्भलाई उल्लेख गरे त कतिले माओवादीकै संलग्नतामा समेत चलचित्र बनाए । तर यसरी बनेका कुनै पनि चलचित्रले व्यवसायिक सफलता हात पार्न सकेनन् । माओवादी कथामा बनेको ‘आवाज’ मात्र होइन, माओवादीकै प्रत्यक्ष संलग्नतामा बनेको ‘लालसलाम’ र ‘जनयुद्ध’ चलचित्रले समेत आफ्नो लगानी उठाउन सकेनन् । 

जसका कारण माओवादी विषयमा सिनेमा बनाउन तम्सिएका निर्माता/निर्देशकले अहिले विस्तारै ती विषय छोड्दै गएका छन् । पहिलो पटक संविधानसभाको निर्वाचनमा माओवादीलाई मतदान गर्ने करिब ४० लाख मतादाता थिए । तर माओवादी जनयुद्धमा आधारित चलचित्र हेर्ने त्यसको पाँच प्रतिशत जनता पनि हलमा पुगेनन् । माओवादी युद्धमा आधारित फिल्म किन सफल हुन सकेनन् ? यसका निर्माता तथा निर्देशकहरु सिनेमा राम्रो भए पनि अन्य प्राविधिक पक्षका कारण सिनेमाले व्यवसायिक सफलता पाउन नसकेको बताउँछन् । चलचित्र ‘लालसलाम’का निर्देशक शिवजी लामिछानेले यो पङ्क्तिकारसँग भन्नुभएको थियो–“हामीले पैसा कमाउनको लागि सिनेमा बनाएका थिएनौँ, जुन उद्देश्यकासाथ चलचित्र बनाएका थियौँ त्यो मानेमा हामी पूर्ण रुपमा सफल भएका छौँ ।”

‘लालसलाम’लाई व्यवसायिक रुपमा सफल बनाउन आफैंले राम्रो पहल गर्न नसकेका कारण पनि व्यवसायिक लाभ पाउन नसकिएको लामिछानेको बुझाई थियो । जुन उद्देश्यले सिनेमा बनाएका थियौँ त्यसमा आफूहरु सतप्रतिशत सफल भएको उहाँको भनाई थियो । ‘लालसलाम’मा माओवादीको जनमुक्ति सेना र हतियारको समेत प्रयोग गरिएको थियो । माओवादी युद्धमै आधारित अर्को चलचित्र हो ‘जनयुद्ध’ । तर यो चलचित्रले पनि व्यवसायिक स्वाद चाख्न सकेन । काठमाडौँका मुख्य हलहरुबाट एक हप्तामैं यो चलचित्र विदा    हुनुपर्‍यो । जनयुद्धका निर्देशक विमल पौडेल चलचित्रलाई दर्शकले मन पराएको भए पनि व्यवसायिक रुपमा सफल हुन नसकेको स्वीकार्नुहुन्छ । 

आफ्नो चलचित्र सफल हुने आधार भए पनि प्रतिकूल अवस्थामा रिलिज हुनु र प्रचारप्रसारमा यथेष्ट ध्यान नदिनुलाई कमजोर मान्नुहुन्छ पौडेल । माओवादी जनयुद्ध र मुक्ति आन्दोलनको विषयसँग निकट रहेर बनाइएको अर्को चलचित्र हो ‘आवाज’ । नवल खड्काको निर्माण र बद्रि अधिकारीको निर्देशनमा बनेको यो चलचित्रले पनि व्यवसायिक सफलता हात पार्न   सकेन । निर्माता खड्का भने यो चलचित्रलाई माओवादी विषयमा आधारित भन्न    रुचाउनुहुन्न । मुलुकमा गणतन्त्र स्थापनाका लागि ज्यानको आहुति दिने जो कसैको पनि कथा त्यसमा समेटिएको उहाँले बताउनुभएको थियो । आफ्नो निजी लगानीमा चलचित्र बनाउनुभएका खड्काले नाफा नैं नकमाए पनि घाटा सहनु नपरेको बताउनुहुन्छ । तर उहाँ राष्ट्रिय भावनाले ओतप्रोत भएका चलचित्र निर्माणमै क्रियाशील हुनुहुन्छ । ‘आवाज’ पछि खड्काले ‘दशगजा’ र ‘काँडेतार’ चलचित्र पनि निर्माण गर्नुभयो ।  

माओवादी आन्दोलनसँग जोडिएको विषयमै चलचित्र ‘शहीद’ निर्माण भयो । तर यसले पनि अघिल्ला चलचित्रले जस्तै व्यवसायिक सफलता प्राप्त गर्न सकेन । माओवादी आन्दोलनका विषयमा बनेका चलचित्र सफल नहुनुमा व्यवसायिक तयारी नपुगेको निर्माताहरुको भनाई छ । नेपाली चलचित्रका आम दर्शकको प्रवृत्तिलाई बुझेर प्रचारप्रसार गर्न नसक्नु नैं आफूहरुको कमेजोरी रहेको उहाँहरुको ठम्याई छ । 

माओवादी युद्धको विषयलाई दर्शक तथा नेपाली जनताले मन नपराएका हुन् कि हलमा गएर फिल्म नैं हेर्ने नेपाली दर्शकको सङ्ख्या घट्दै गएको हो ? यो प्रश्न करिब एक दशकदेखि नेपाली सिनेकर्मीहरुको दिमागमा घुमिरहेको छ । राष्ट्रिय, जातीय उत्पीडन, अधिकार प्राप्तिको आन्दोलन आदिका विषयमा आधारित सिनेमा भन्न छाडेर ‘माओवादी विषय’ भन्दा दर्शक हलसम्म नपुगेको ती चलचित्रका केही निर्माताको भनाई छ । यी र यस्ता फिल्म नचल्नुमा हलसँगको असमझदारी पनि अर्को पक्ष रहेको बताइन्छ । खासगरी चलचित्र चलाउन लामो समयसम्म कुर्नुपर्ने अवस्थामा माओवादी विषयसँग जोडिएका चलचित्र चलाउन तत्कालिन माओवादीहरुले पालो मिचेर हलहरुलाई बाध्य पारेको काठमाडौँका एक हल सञ्चालकले स्मरण गर्नुभयो । उहाँका अनुसार यसै करण हलहरुले ‘होल्डओभर’ भएपछि माओवादी विषयमा आधारित चलचित्रलाई हलबाट उतारीदिए । एक दशक अघिको घटना उहाँ स्मरण गर्नुहुन्छ–“कतिपय अवस्थामा बल मिच्याई गरियो जसले गर्दा हल सञ्चालकहरुले यी सिनेमालाई सहयोग गरेनन् ।”

मायाँ–प्रेममा आधारित चलचित्रको बजार र बाहुल्यता रहेको वर्तमान सन्दर्भमा नेपाली दर्शकले चलचित्रका माध्यमबाट समाजलाई कसरी अग्रगामी, सचेत, जागरुक, समानता, अधिकार, प्राप्ति र रक्षाका बारेमा समावेश भएका कथाहरुलाई कलात्मक र बिम्वात्मक ढङ्गले समेट्ने भन्ने बारेमा रुची राख्न सके नेपालको परिवर्तन, लोकतन्त्र, गणतन्त्र र संविधानले परिकल्पना गरेको समाजवाद प्राप्तिका लागि टेवा पुग्ने थियो कि ! 

  

Author

फणीन्द्र फुयाल ज्वाला