ललितपुर, माघ १९ गते । यातायात क्षेत्रमा कार्यरत मजदुर दुर्व्यवहारमा पर्ने गरेको सरोकारवालाले बताएका छन् । ट्राफिक प्रहरीलगायत विभिन्न नियामक निकायका साथै यात्रुले समेत यस क्षेत्रमा कार्यरत मजदुरलाई दुर्व्यवहार गर्ने गरेको सरोकारवालाले बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार ललितपुरमा आयोजित ‘सेवाग्राहीको अधिकार संरक्षणमा सेवाप्रदायकको भूमिका’ विषयक अन्तर्क्रियामा अखिल नेपाल यातायात मजदुर युनियनका अध्यक्ष दीपक केसीले ट्राफिक प्रहरी र प्रहरीबाट चालक र सहचालकलाई ‘तँ’ भनी सम्बोधन गर्ने गरिएको, सामान्य घटनामा पनि हत्कडी लगाएर दुव्र्यवहार गरिएको, यात्रुलाई सामान्य चोटपटक लागेको अवस्थामा समेत चालक र सहचालकलाई अङ्गभङ्गको मुद्दा लगाउने गरिएको बताउनुभयो । “दुर्व्यवहार र मानव अधिकार हननका कारण चालक र सहचालकले सम्मानपूर्वक जीवन बाँच्न पाएका छैनन् । उनीहरूका छोराछोरीले स्कुल तथा कलेजमा म चालक र सहचालकको सन्तान हौँ भन्ने अवस्था छैन । यसभन्दा ठुलो मानव अधिकारको हनन के हुन सक्छ ?,” उहाँले भन्नुभयो ।
आयोगका अध्यक्ष तपबहादुर मगरले कसैलाई होच्याउने, आफूभन्दा तल्लो देखाउने, उसको मानसम्मान तथा सामाजिक जीवनमा आँच पुग्ने गरी सम्बोधन र व्यवहार नगर्न सम्बन्धित सबैसँग आग्रह गर्नुभयो । नेपाल यातायात मजदुर सङ्घका महासचिव जगरनाथ गौतमले दुव्र्यवहार तथा मानव अधिकारको हननका कारण यातायात मजदुर आफूलाई अपमानित भएको महसुस गर्ने गरेको, समाजबाट समेत अपहेलित हुनुपरेको र त्यसको असर सन्तानमा समेत पर्न गएको उल्लेख गर्नुभयो । उहाँले ट्राफिक प्रहरीले चेकजाँचको नाममा अनावश्यक दुःख दिने गरेको बताउनुभयो ।
उपभोक्ता अधिकारकर्मी विष्णु तिमिल्सिनाले नियमित अनुगमन अभाव, भएका ऐन कानुनको प्रभावकारी न्यून कार्यान्वयन र आवश्यक ऐन कानुन अभावलगायतका कुराले उपभोक्ता पाइलैपिच्छे ठगिनुपरेको उल्लेख गर्नुभयो ।