• ७ जेठ २०८१, सोमबार

संवृद्धिका लागि पर्यटक आकर्षित गर्नुपर्छ : गृहमन्त्री पाण्डे

blog

लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेसहित कार्यक्रममा सहभागी अतिथिहरू ।

साबित्री गिरी

कोहलपुर, माघ १७ गते । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले लुम्बिनी प्रदेश पर्यटनका दृष्टिकोणले प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यस क्षेत्रको विकासका लागि तीनै तहका सरकारको हातेमालो आवश्यक रहेको बताउनुभएको छ । 

नेपालमा पहिलो टेलिभिजन च्यानलका रूपमा २०४१ सालदेखि प्रसारण प्रारम्भ गरेको नेपाल टेलिभिजनको ३९ औ वार्षिकोत्सव अवसरमा एनटिभी कोहलपुरको कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दे मन्त्री पाण्डेले प्रदेशका सम्भावित पर्यटकीय स्थल, भाषा र स्थानीय उत्पादनका सवालमा मिडियाले सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो । 

उहाँले भगवान् गौतम बुद्ध जन्मिएको पबित्रस्थल लुम्बिनी पनि यही प्रदेशमा भएको र विभिन्न शक्तिपिठ पनि रहेकाले धार्मिक पर्यटनको सम्भावना राम्रो रहेको इङ्गित गर्नुभयो । देशमा भएका ठुला परिवर्तन र विकासमा नेपाल टेलिभिजनले खेलेको भूमिकाको उहाँले प्रशंसा गर्दै सकारात्मक सन्देश दिने सामग्रीहरू सबै मिडियाले प्रसारण तथा प्रकाशन गर्नुपर्छ भन्ने धारणा राख्नुभयो । 

देश सङ्घीयतामा गएसँगै नेपाल टेलिभिजनले पनि आफूलाई सोहीअनुसार अनुसरण गर्दैगएको र पर्यटन प्रवर्धनमा पनि महत्त्वपूर्ण भूमिका खेल्दै जानुपर्ने गृहमन्त्री पाण्डेयले बताउनुभयो । 

कार्यक्रममा एनटिभी कोहलपुरका प्रमुख विजय बर्माले नेपाल टेलिभिजन स्थापना भएपछि नेपाल सञ्चार प्रणाली थप बलियो र सक्रिय भएको बताउनुभयो । अहिले नेपाल टेलिभिजन विभिन्न भाषाभाषी, कला संस्कृति, कृषि, पर्यटनलगायतलाई बढी प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । 

एनटिभी कोहलपुरका उत्पादन प्रमुख रामचन्द्र लोहारले एनटिभी कोहलपुरको स्थापना र वर्तमान अवस्थाबारे जानकारी गराउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश भूमि व्यवस्था तथा कृषिमन्त्री भण्डारीलाल यादव, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, प्रदेश सांसद तथा पूर्व वनमन्त्री दुर्गाप्रसाद चौधरी, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, गृह सचिव लालवावु कुवारी, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण पोखरेललगायत वक्ताहरूले वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्नुभयो । 

वार्षिकोत्सवको अवसरमा एनटिभी कोहलपुरले विभिन्न विधामा खेलकुद प्रतियोगिता गरेको थियो । प्रतियोगितामा विजयी भएका खेलाडीलाई सम्मानित गरेको थियो ।