• ७ जेठ २०८१, सोमबार

संशोधन गर्न बनेको विधेयक समितिमा

blog

सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा उपस्थित प्रदेश सभा सदस्य । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, माघ १७ गते । सुदूरपश्चिम प्रदेशको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ । 

आज बसेको प्रदेश सभा बैठकले सो विधेयकलाई समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मतले पारित गरेको हो । भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भन्ने प्रस्ताव सदनमा पेस गर्नुभएको थियो । 

यसैबिच, सुदूरपश्चिम प्रदेशको लोगो संशोधन समितिले तयार पारेको प्रदेश लोगो संशोधनसम्बन्धी प्रतिवेदन प्रदेश सभामा टेबुल गरिएको छ । समितिका संयोजक पदमबहादुर शाहीले प्रतिवेदन टेबुल गर्नुभएको हो । समितिले तयार पारेको प्रतिवेदनमाथि शुक्रबार छलफल हुने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । 

हाल प्रयोगमा रहेको प्रदेश लोगोमा नेपालको नक्सा नरहेको र झण्डामा चन्द्र, सूर्य स्पष्ट नदेखिएकाले लोगो संशोधन गर्न लागिएको हो । गत जेठ २८ गते बसेको प्रदेश सभा बैठकले लोगो संशोधनका लागि सात सदस्यीय लोगो संशोधन समिति गठन गरेको थियो ।