• १२ साउन २०८१, शनिबार

पशुपन्छी अनुसन्धानका लागि आइएलआरआइसँग सम्झौता

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, माघ १७ गते । कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बिच सम्झौता भएको छ ।

काठमाडौँमा बुधबार नेपाल सरकारका तर्फबाट कृषि मन्त्रालयका सचिव डा.रेवती रमण पौडेल र आइएलआरआईका तर्फबाट सहायक महानिर्देशकले डा.सिरले तारावालीले दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

सम्झौताले पशुपन्छी अनुसन्धान र विकास, नवीन प्रविधि प्रवर्द्धन र यस क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउन दुवै निकायको प्रतिबद्धतालाई बलियो बनाउने मन्त्रालयको विश्वास छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले दुई पक्षीय सम्झौताले पशुपालनमार्फत गुणस्तरीय जीविकोपार्जनमा योगदान पुर्‍याउँदै अनुसन्धान र विकासमा सार्वजनिक र निजी क्षेत्रको सहभागिताका लागि बलियो ढाँचा उपलब्ध गराउने अपेक्षा रहेको बताउनुभयो । 

आइएलआरआइले सन् २०१३ देखि अफ्रिका र एसियाका कम र मध्यम आय भएका देशका सरकारसँगको सहकार्यमा विभिन्न स्तरका पशुपन्छी क्षेत्रका गुरु योजना र लगानी योजना विकास गर्न प्राविधिक सहयोग उपलब्ध गर्दै आएको छ ।

सम्झौता गरिएको संस्था विश्वव्यापी रूपमा पशुपन्छीको उत्पादन प्रवर्द्धनलगायत पशुपन्छीको क्षेत्रमा वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने एक संस्था हो । 

सम्झौताले पशुधनको क्षेत्रमा अनुसन्धान र विकासका विभिन्न पक्षहरूमा सहकार्य गर्न नेपाल सरकार र आइएलआरआइ तयार रहेको उल्लेख गरिएको छ । दुवै पक्ष नेपालमा जलवायु परिवर्तन, जनसङ्ख्या वृद्धि र गरिबीबाट उत्पन्न चुनौतीहरू गर्न समर्पित छन् । 

सो साझेदारीले नेपालको कृषि विकास रणनीति (सन् २०१५ देखि २०३५) मा योगदान पुर्‍याउने उद्देश्य राखेको छ । साझेदारीले खाद्य र पोषण सुरक्षा गर्न गरिबी न्यूनीकरण गर्न गुणस्तरीय जीविकोपार्जनका लागि पशुधनको दिगो सुनिश्चित गर्छ ।

सम्झौतापछि डा.सिरले तारावालीले उचित पोषण, बाल कुपोषण न्यूनीकरण गर्न संज्ञानात्मक विकास सुधार, खाद्य उत्पादन र स्वास्थ्यका लागि साना किसानको पशुपालन प्रणालीलाई गर्न सहयोग गर्ने उल्लेख गर्नुभयो । कृषि सचिव पौडेलले नेपालको पशुपालनको क्षेत्रमा स्थानीय समस्यालाई समाधान गर्न सहयोग मिल्ने बताउनुभयो ।