• २७ पुस २०८१, शनिबार

जनताको मुद्दा सम्बोधन गराउन जनपरिचालनमार्फत दवाव : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसहित नेताहरु उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको कार्यक्रममा ।

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १६ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश र जनतासँग सरोकार रहने प्रमुख मुद्दाहरूमा जनपरिचालनमार्फत् राज्यप्रति दबाब सिर्जना गर्ने तयारी पार्टीले गरिरहेको  बताउनुभएको छ । पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज पार्टी कार्यालय, च्यासलमा ‘उपभोक्ता हित र सुशासन’ विषयमा सांसदहरूसँग गरेको अन्तर्क्रिया कार्यक्रममा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । 

पार्टी देश र जनताको हितसँग सम्बन्धित विषयमा जनतालाई जोडेर दबाबमूलक कार्यक्रम गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्न लागेको बताउनुहुँदै महासचिव पोखरेलले राज्यले मनपरी गरिरहने र पार्टी टुलुटुलु हेरेर बस्ने अवस्था रहँदैन भन्नुभयो । उहाँले उपभोक्ताका सरोकारका विषयमा सडकमा मात्र नभई सदनमा पनि उत्तिकै सशक्त आवाज उठाइ सडक र सदनलाई जोडिने बताउनुभयो । 

पोलिटव्यूरो सदस्य तथा विभागका प्रमुख जितु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता हित तथा सुशासनसम्बन्धी विषयविज्ञहरू ज्योति बानिया र विष्णुप्रसाद तिमिल्सिनाले उपभोक्ताहरू हरेक क्षेत्रमा मर्कामा परिरहेको विषयमा आफ्ना प्रस्तुति राख्नुभएको थियो । 

एमालेका उपमहासचिव एवं संसदीय विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठ, प्रतिनिधि सभामा प्रमुख सचेतक पदम गिरी, सचेतक महेश वर्तौला, संसदको दुबै सदनमा विभिन्न समितिमा रहनुभएका सांसदहरू कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । 

विभागका प्रमुख गौतमले उपभोक्ता हित तथा सुशासनका विभिन्न क्षेत्रहरू छुट्याई विभागका सदस्यलाई कार्य विभाजन गरिएको जानकारी गराउँदै सांसदहरूलाई आवश्यक पर्ने सहयोग विभाग र विभागका सदस्यबाट प्राप्त हुने व्यवस्था गरिएको बताउनुभयो ।