• १३ असोज २०८१, आइतबार

सात सर्जक सम्मानित

blog

पनौती समाचारदाता 

पनौती, माघ १६ गते । अक्षरमार्गले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षेत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ । 

अक्षरमार्गको ११ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने सर्जकलाई सम्मान गरिएको हो । काभ्रेको पनौतीमा आयोजित सम्मान समर्पण तथा पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई कृष्णसुन अक्षरमार्ग पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ । त्यस्तै विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ कलाकार केके कर्माचार्यलाई सम्मानित गरिएको छ । यस्तै वरिष्ठ कथाकार सनत रेग्मीलाई श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मानबाट सम्मानित गरिएको छ । 

गायत्री श्रेष्ठलाई अक्षरमार्ग नरबहादुर स्रष्टा सम्मान समर्पण गरिएको छ । साहित्यकार तथा भाषिक अभियन्ता श्रीकृष्ण महर्जनलाई कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट सम्मानित गरियो भने दार्जिलिङ निवासी साहित्यकार सुभद्रा बम्जनलाई ध्रुवमीरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानद्वारा सम्मानित गरिएको छ । यस्तै अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट साहित्यकार डा. गोपाल पौड्याल मण्डने सम्मानित हुनुभएको छ । कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, मोहन दुवाल, पवन आलोक, सूर्य लाकोजू, विजय कर्माचार्यलगायतले नेपाली साहित्यका बारेमा बोल्नुभएको थियो । सोही अवसरमा साहित्यकार सूर्य लाकोजूद्वारा लिखित ‘सिर्जना लेखन कला’ र ‘अक्षरका स्वरूप’ नामक दुई कृति लोकार्पण गरिएको थियो ।