• २७ पुस २०८१, शनिबार

वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ

blog

काठमाडौं, माघ १४ गते । प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पोल्याण्ड पठाउने भनी छ लाख रुपियाँ लिई सम्पर्कविहीन बनेका काठमाडौँको हाँडीगाउँका ४३ वर्षीय ग्रिस विलास जोशीलाई पक्राउ गरेको छ ।

जोशीले पोल्याण्ड जान प्रतिव्यक्ति ३० लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा वेटरको काममा मासिक तलब दुई लाख रुपियाँ हुन्छ भनी प्रलोभनमा पारेका थिए । 

यसैगरी, अजरबैजान पठाउने भनी ३३ लाख दुई हजार रुपियाँ ठगी गर्ने बारा जिल्ला कोल्वी नगरपालिका वडा नंं. ४ का ३३ वर्षीय राम शरण शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

शिवाकोटीले अजरबैजान जान प्रतिव्यक्ति १३ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब दुई लाख रुपियाँ हुने भनी विश्वास दिलाइ पीडितहरूबाट पटक-पटक गरी १६ लाख ५० हजार रुपियाँ र राजन प्रसाईँ समेत तीन जनाबाट १६ लाख ५२ हजार रुपियाँ रकम लिई सम्पर्कविहीन रहेका थिए ।

निजले फ्रान्स, स्पेन, युक्रेन जस्ता देशहरूमा पठाउने भनी धेरै व्यक्तिहरूसँग रकम लिएको खुल्न आएकोले ठगिएका व्यक्तिहरूले आवश्यक कानुनी प्रक्रियाका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा सूचित गराएको प्रहरीले जनाएको छ ।