• २७ पुस २०८१, शनिबार

नेपाल-भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल सुरु भइसक्योः मन्त्री साउद

blog

भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद । तस्बिर : गोरखापत्र

काठमाडौं, माघ १५ गते । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल-भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल सुरु भइसकेको बताउनुभएको छ । सोमबार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जानुभएको बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानका पहल अघि बढाइएको बताउनु भयो ।

मन्त्री साउदले सीमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्ने बताउनुभयो । उहाँले प्रशासनिक रुपमा रहेको मेकानिजम पनि क्रियाशील भ अहिले तथ्यको आधारमा दुवै देशबिच समस्या समाधानका लागि कुटनीतिक पहल चलिरहेको जानकारी दिनुभयो । उहाँले हालै भारतका विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा पनि सीमा समस्या समाधानको प्रतिबद्धता भएको बताउनुभयो ।


‘‘हाम्रो प्रधानमन्त्रीज्यू भारत भ्रमणको बेलामा स्पष्ट रुपमा भारतीय प्रधानमन्त्रीज्यूले भन्नुभएको छ, हामी नेपाल–भारतको बिचमा सिमानाका केही समस्या छन् भने पनि हामी यसलाई बसेर समाधान गर्दछौँ, भन्नुभएको छ । सिमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्छ, हामीसँग प्रशासनिक रुपमा पनि मेकानिजम छ । त्यो मेकानिजम क्रियाशील हुनुपर्छ ।,’’ मन्त्री साउदले भन्नुभयो, ‘‘त्यो क्रियाशील भइसकेपछि तथ्यको आधारमा दुई वटै छिमेकीले एक आपसमा कूटनीतिक किसिमले बसेर यो समस्याको समाधान गर्नुपर्छ । यो कुरा दुवै देशको बिचमा सुरु भइसकेको छ । भर्खरै मात्र भारतका परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको सिलसिलामा पनि हामीले दुवै देशको बिचमा वार्ता, छलफलको प्रक्रियाबाट यो समस्याको समाधान गर्छौं भन्ने प्रतिबद्धता व्यक्त गरिसकेका छौँ ।’’

मन्त्री साउदले अहिले आर्थिक चुनौति भोगिरहनुपरेको बताउनुभयो । उहाँले आर्थिक समस्या समाधानका लागि सरकारले हाइड्रो इनर्जीलाई बिस्तार गरी भारत, बङ्गलादेशसँग विद्युत व्यापार बढाउनुपर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायले नै प्रतिबद्धता क्लिन इनर्जी रहेकाले नेपालले त्यसको सदुपयोग गर्न सक्नुपर्ने जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, ‘‘अब कुरा रह्यो आर्थिक चुनौतीको । हामीसँग तीन चार वटा कुरा छन् । जसमा नेपाल भाइब्रेण्ट छ । पहिलो कुरा हामीसँग भएको हाइड्रो इनर्जी । भारत, दुनियाँका जुनसुकै देशले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता के कुराका लागि गरेका छन् भने अब उनीहरुले जैविक इन्धनलाई लामो समयसम्म प्रयोग गर्न सक्दैनन् । उनीहरुको सबैको प्रतिबद्धता पानीबाट चल्ने, हावाबाट चल्ने वा सोलार इनर्जी । जो क्लिन इनर्जी छ, त्यसको प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता बढेको छ । नेपाल त्यसको सबैभन्दा ठूलो स्रोतको रुपमा छ ।’’

मन्त्री साउदले नेपालले एक लाख मेगावाटसम्मको विद्युत् उत्पादन गर्नका लागि अध्ययन गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।