• २७ पुस २०८१, शनिबार

फुकोट कर्णाली जलविद्युत् निर्माणपूर्वका काम धमाधम

blog

रजनी योगी

सुर्खेत, माघ १५ गते । फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणपूर्वका काम सञ्चालन भइरहेको छ । कालीकोटमा निर्माण हुने ४८० मेगावाटको आयोजना निर्माणपूर्वका विभिन्न चरणका काम भइरहेका छन् ।

विद्युत् उत्पादन कम्पनी र एनएचपिसी इन्डिया लिमिटेड कम्पनीको संयुक्त लगानीमा आयोजना निर्माण हुने छ । आयोजना निर्माणका लागि पूर्वतयारी धमाधम भइरहेको छ । मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । आयोजना प्रमुख डम्मर उप्रेतीका अनुसार मुआब्जा वितरणको ९५ प्रतिशत काम सकिएको छ । हालसम्म एक हजार तीन सय रोपनी जग्गा अधिग्रहण भइसकेको छ । जग्गा अधिग्रहणमा ५५ करोड रुपियाँ खर्च भइसकेको र अब न्यून रकम वितरण गर्न बाँकी छ । 

विसं २०७५ मा आयोजनाको सर्वेक्षणका लागि विद्युत् विकास विभागले अनुमति दिएको थियो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । सन् २०२२ मै डिपिआरको काम सकिएको थियो । अहिले आयोजनापूर्वका काम धमाधम भइरहेको जनाइएको छ । कार्यालय भवन र आवास भवन निर्माणको काम चलिरहेको छ । आयोजनाको क्याम्प क्षेत्रको कामसमेत भइरहेको छ । हाल रक मेकानिकल टेस्टको काम धमाधम भइरहेको आयोजना प्रमुख उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण सुरुङ हेडवक्र्स र टेस्ट अडिट सुरुङ पावर हाउस निर्माणको काम भइरहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत हुने चरणमा रहेको आयोजना प्रमुख उप्रेतीले जानकारी दिनुभयो । स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले फाइल अन्तिम चरणमा पुर्‍याएको छ । 

आयोजनाको जेनेरेसन लाइसेन्स उत्पादन अनुमतिका लागि विद्युत् विकास विभागमा निवेदन पेस गरिएको जनाइएको छ । आयोजना प्रमुख उप्रेतीका अनुसार गत साउनमा विभागमा निवेदन पेस गरिएको थियो । पाँच वर्ष निर्माणको समयावधि तोकिएको सो आयोजनाको समय गणना जेनेरेसन लाइसेन्स पाएको मितिबाट सुरु हुने छ । 

प्रभावित ४८० घर 

जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट प्रभावित हुने ४८० घरपरिवारलाई क्षतिपूर्ति वितरण प्रक्रिया सुरु भएको जनाइएको छ । कालीकोटको पचालझरना तथा सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाका गरी आयोजनाबाट ४८० घर प्रभावित हुनेछन् । उनीहरूलाई १३ करोड ६५ लाख रुपियाँ वितरण गर्न लागिएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले सूचना प्रकाशित गरेर रकम वितरण गर्ने जनाइएको छ । आयोजनाका अनुसार सान्नीत्रिवेणी गाउँपालिका–१, २, ३, ४; पचालझरना गाउँपालिका–१, २, ८, ९ र रास्कोट नगरपालिका–६, ७, ८ र ९ वडाका ४८० घर प्रभावित हुने छन् ।

लागत अनुमान ९२ अर्ब

आयोजना निर्माणका लागि नेपाल र भारत सरकारको संयुक्त लगानी रहने छ । नेपालको सरकारी कम्पनी विद्युत् उत्पादन कम्पनी र भारत सरकारको स्वामित्वमा रहेको एनएचपिसी इन्डिया लिमिटेडको संयुक्त लगानी हुने छ । एमओयुको मस्यौदा अनुसार एनएचपिसीको ५१ र भियुसिएलको ४९ प्रतिशत लगानीमा फुकोट कर्णाली आयोजना बनाउने तयारी छ । आयोजनाको ब्याजदरसहित ९२ अर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ । विद्युत्गृह सान्नीत्रिवेणी गाउँपालिका–१, सेरीगाउँको दक्षिणपश्चिम भागमा निर्माण गरिने जनाइएको छ । यस आयोजनाका लागि ८.४ मिटर व्यास र क्रमशः ५८३१.६६ मिटर र ५५९७.२ मिटर लम्बाइका दुई मुख्य (हेड रेस) सुरुङमार्ग निर्माण गरिने छ । यो आयोजनाको कुल हेड (ग्रस हेड) १६८.६२ मिटर हुने जनाइएको छ ।