• २७ पुस २०८१, शनिबार

घण्टाघर व्यवस्थित बनाइँदै

blog

छिन्चु समाचारदाता

सुर्खेत, माघ १४ गते  । सुर्खेतको वीरेन्द्रनगरमा रहेको पर्यटकीय स्थल घण्टाघरको पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वर्षौं पहिले निर्माण गरेको पर्खाल जीर्ण भएको र ठाउँ ठाउँमा भत्किएपछि नयाँ पर्खाल बनाउन नगरपालिकाले ठेक्कामार्फत निर्माण थालेको हो । 

गत जेठबाट निर्माण थालिएको पर्खालको पहिलो चरणको काम सकिन लागेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।

हाल घण्टाघरको पर्खालको काम सकिएर रङ लगाउने काम भइरहेको छ । पर्खाल निर्माणको जिम्मा नमस्ते निर्माण सेवाले लिएको थियो । निर्माण कम्पनीले पर्खालको सबै काम सकेर फलामको रेलिङ राख्ने काम गरिरहेको छ । एक हप्तामा बत्ती जडान सकेर हस्तान्तरण गर्ने निर्माण कम्पनीको भनाइ छ । नयाँ बनेको पर्खालमा रोल्पाबाट ल्याएको ढुङ्गा टाँसेर कलात्मक बनाइएको छ । पर्खालमा सुर्खेत चिनारीका फोटो राख्न र फूलका बिरुवा रोप्ने तयारी भइरहेको छ । 

पर्खालमाथि लाइट राख्ने गरी डिजाइन गरेकाले रातिमा घण्टाघर झन् आकर्षण देखिने नगरपालिकाका इन्जिनियर ईश्वरी ढकालले बताउनुभयो । घण्टाघर पार्कको पहिलो चरणको पर्खाल निर्माणमा ४६ लाख लागत लागेको छ । 

घण्टाघर पार्कको मुख्य गेटसहित बाँकी रहेको दोस्रो चरणको पर्खाल बनाउने गरी ठेक्का आह्वान गरिसकिएको छ । करिब ५५ लाख रुपियाँ लागतमा जगन्नाथ कन्स्ट्रक्सनले निर्माण जिम्मा पाएको छ । आगामी जेठसम्म सक्ने गरी सम्झौता गरिएको छ । घण्टाघरमा १२ वर्षपछि साढे ११ लाख खर्च गरेर घडीसमेत फेरिएको छ ।