• ३० जेठ २०८२, शुक्रबार

स्याङ्जामा पनि लटरम्मै खजुर

blog

गल्याङ् नगरपालिका–११ जिमुवामा बाबुराम ढकालले फलाएको खजुर । तस्बिर: अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, जेठ २९ गते । मरुभूमिमा फल्ने खजुर स्याङ्जाको गल्याङ् नगरपालिका–११ जिमुवामा फलेको छ । साउदी मरुभूमिको गर्मीमा फल्ने खजुर यहाँका ६० वर्षीय बाबुराम ढकालले आफ्नो घर अगाडि फलाउनु भएको हो । 

रोजगारका सिलसिलामा २१ वर्ष साउदी अरबमा बस्नुभएका ढकालले घर आउँदा खजुरको बिउ ल्याउनु भएको थियो । सन २०१६ मा ल्याएको बिउ जमाएर बिरुवा उत्पादन गरेर लगाएको र गत सालबाट फल लाग्न थालेको ढकालले बताउनुभयो । आउँदा छ केजी खजुरको बिउ ल्याएको बताउँदै ढकालले थोरै लगाएको र लगाएकोमा १५ वटा उम्रेको बताउनुभयो । 

१५ उम्रेको र लगाउने बेलमा १२ वटा बिरुवा लगाएको बताउँदै दुई वटा बिरुवा बढेर ठुलो भएको उत्पादन दिने भएको बताउनुभयो । दुई मध्ये एक भाले रहेको बताउँदै ढकालले फल दिनका लागि एक भाले अनिवार्य रहेको उहाँले बताउनुभयो । 

गत साल भालेको फूल नहुँदा थोरै फलेको बताउँदै ढकालले अहिले फलाउन साउदीबाट भाले खजुरको फूल ल्याएको बताउँदै यो साल छ वटा झुप्पामा करिब ४० केजी भन्दा बढी फलेको बताउनुभयो । 

घरमा भएको एक बिरुवा भाले देखिएकाले अब भने साउदीबाट फूल ल्याउने समस्या पनि टरेको ढकालको भनाइ थियो । मरुभूमि भन्दा यो फल फलेको फलेको देखेपछि आफ्नो गाउँमा समेत हावापानी मिल्ने सोचेर बिउ लिएर आएको र लामो समयमा सफलता पाएको बताउनुभयो ।

 फागुनमा केरा जस्तै पसाएको र फल लागेको बताउँदै ढकालले भदौमा पाक्ने बताउनुभयो । खजुर फल्नका लागि तापक्रम चाहिने बताउँदै ढकालले पानी भने आवश्यक नरहेको बताउनुभयो । 

उहाँले ४५ डिग्री तापक्रमबाट बिउ ल्याएको र यहाँ पनि सोही अनुसारको तापक्रम रहेकाले फल्ने विश्वास बिउ ल्याउँदै भएको बताउनुभयो । फल्न थालेको दोस्रो वर्षबाटै राम्रो फल दिएको र एक बोटबाटै कम्तीमा २५ हजार आम्दानी हुने बताउँदै बिउ ल्याउदा यो खेती नै गर्ने सोच नभए पनि अब भने गर्ने सोच बनाएको ढकालको भनाइ थियो । 

जिमुवामा खजुर फलेपछि ढकाल लगायत यहाँ अन्य किसानमा समेत खुसी छाएको छ भने आलुको बिउबाट मनग्य आम्दानी गरेका यहाँका किसानलाई आर्थिक आर्जनको नयाँ माध्यम भेटिएको छ । ढकालले यस पटकको फललाई राम्रोसँग पकाएर बिउ बनाएर लगाउन थाल्ने बताउनुभयो । 

स्वास्थ्यका लागि राम्रो मानिने खजुरमा पोटासियम, क्याल्सियम, म्याग्नेसियम, भिटामिन बी सिक्स, आइरन र प्रोटिन पाइने गर्दछ । स्वास्थ्य राम्रो राख्न उपयुक्त भएको र सुगरका बिरामीले समेत दिनको दुई तीन वटा खान मिल्ने फल खजुर हो ।