‘सहिद’ शब्दको निर्माण सम्भवतः समाजमा राजनीतिले प्रभाव जमाउँदै गएपछि मात्रै भएको हुनु पर्छ । देशका लागि आफ्नो ज्यान आहुति दिने, मूलतः राजनीतिक कारणले आफ्नो प्राण त्याग्ने साहसी मान्छे नै सहिद हुन् भन्ने परिभाषा स्थापित भएको छ तर प्रश्न उठ्छ, के यत्तिमै सहिदको अर्थ सीमित हुनु न्यायसङ्गत छ ?
नेपालको इतिहासमा जो सहिदको सन्दर्भ छ, त्यसमा टिप्पणी गर्न आवश्यक छैन । विसं १९९० ताकाका राणाकालीन सहिदको परिभाषा यथोचित छ भन्नुमा दुई मत छैन । वास्तवमै दशरथ, धर्मभक्त, गङ्गालाल, शुक्रराज सहिद हुन् भन्ने तथ्यमा कुनै विवाद नै छैन । पछि गएर राजतन्त्रात्मक समयमा राजामाथि बम हान्न खोज्ने, बम हान्ने साथै अन्य प्रकारका राजद्रोहको आरोप लागेकाहरू जसलाई मृत्युदण्ड दिइयो, ती पनि स्वाभाविक रूपमा कालान्तरमा सहिद कहलाइए ।
बिपी कोइरालाले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश पस्दा तत्कालीन राज्यव्यवस्थाले उनलाई पनि सम्भवतः मृत्युको सजाय दिन सक्थ्यो र उनलाई कदाचित् त्यस्तो सजाय दिइएको भए उनको नामलाई पनि पछि गएर सहिदको रूपमा चर्चा चलाइन्थ्यो होला । यस तथ्यबाट यही बुझ्न सकिन्छ कि सहिद भनिनका लागि कि सहिद भनिने मान्छेलाई झुन्ड्याइएको हुनु पर्छ, होइन भने उसले गोली नै खानु पर्छ । देशमा राजनीतिक परिवर्तन सँगसँगै सहिदको परिभाषामा पनि परिवर्तन हुँदै गएको छ, प्रश्न त्यहाँनिर पनि उठाउन खोजिएको हो ।
राज्यसत्तासँग कसैको राजनीतिप्रतिको असन्तुष्टिमा विद्रोह हुन्छ, यो सामान्य कुरो हो । त्यस्तो विद्रोहमा अनेक किसिमका तौरतरिका समावेश भएका हुन्छन् । कतिपयले जुलुस निकाल्लान्, विरोधका नारा लगाउलान् । कतिले मसाल जुलुस नै निकालेर विरोध जनाउलान् । भोकहडताल गर्लान्, कलम बन्द गर्लान् । पछि पछि आएर त विरोधका नाममा चक्का जाम या बजार बन्द जस्ता विरोधका कार्यक्रमलाई बढी प्राथमिकता दिएको पाइन्छ ।
त्यसो त प्रजातन्त्र, वाक्स्वतन्त्रता भनिसकेपछि विरोधका जस्तासुकै रूपहरू पनि सामान्य मान्न लागिसकिएको छ । यस क्रममा विरोधको आवाज उठाउँदा, विरोधका कर्महरू गर्दा कुनै भवितव्य पर्यो भने अर्थात् राज्यको तर्फबाट विद्रोहीहरूलाई दमन गर्दा कसैको निधन हुन गयो भने त्यो निधन भएको व्यक्तिलाई सहिद भनिने भनाइ परम्परा समाजमा कायम भइसकेको छ । यतिसम्मलाई मान्न पनि सकियो तर सहिद घोषणा गर्ने क्रममा यहाँ अनेकौँ किसिमका विकृति देखा परिरहेको तथ्यबाट जानकार नहुने सायद कोही पनि छैनन् ।
देख्ने गरिएकै छ, कुनै अस्पतालमा कारणवश एक व्यक्तिको निधन हुन्छ, त्यस्तै कुनै कारखानामा एक मजदुरको निधन हुन्छ, कुनै कार्यालयमा एक कर्मचारीको निधन हुन्छ, अथवा सानातिना कुनै झडपमा कुनै समूहको एक व्यक्तिको निधन हुन्छ, राजमार्ग या मूलसडकमा दुर्घटनामा परेर कसैको निधन हुन्छ । कदाचित् गल्ती खोज्दै जाँदा निधन हुने व्यक्तिको गल्ती थिएन भन्ने प्रमाणित भएपछि चलनचल्तीको रूपमा १० लाख रुपियाँ उपलब्ध गराइएपछि समस्या समाधान हुने परम्परा पनि यहाँ करिब करिब स्थापित भइसकेको छ । तथापि कतिपय केसमा निधन भएका व्यक्तिलाई सहिद घोषणा गरिनुपर्ने मागसमेत राख्ने गरिएको पाइन्छ । विभिन्न अवस्थामा बाध्य भएर त्यस्ता मागलाई पूरा गर्नुपर्ने अवस्था पनि राज्यलाई आइपरेको घटनाहरू देखिसुनिएकै हो । वास्तवमा, के सहिद भन्ने विषय त्यति सस्तो छ ? सहिद भनिनका लागि कुनै व्यक्तिको अलिक फरक अप्ठेरो किसिमको मरणलाई आधार माने पुग्छ ? त्यसो हो भने देशमा आत्महत्या गरेर मृत्यु भोग्ने सबै नागरिकलाई सहिद घोषणा गरे हुने भन्ने मान्यता स्थापना गर्न खोजियो भने त्यसलाई नकार्न पनि नसकिने स्थिति नआउला भन्न सकिन्न ।
अर्कोतर्फ, माथि पनि भनियो सहिद भन्नका लागि सहिद भनिने मान्छेलाई झुन्ड्याइएको हुनु पर्छ, होइन भने उसले गोली नै खानु पर्छ तर ससर्त, देशका लागि उसले मृत्यु अङ्गीकार गरेको हुनु पर्छ तर अब यहीँनिर मूल प्रश्न आउँछ के देशका लागि आफ्नो शरीरको बलिदान गर्ने व्यक्तिमा मात्रै सीमित छ त सहिद हुनुको अर्थ ? बाँचुन्जेल आफ्नो पूरै जीवन देशलाई समर्पण गरेर मर्ने मान्छेलाई सहिद भन्न मिल्ने कि नमिल्ने ? जस्तो कि बिपी कोइराला, गणेशमान सिंह, किसुनजी, पुष्पलाल, मदन भण्डारीलगायतका नामलाई यहाँ उहाहरणका रूपमा लिन सकिन्छ । उनीहरूले शरीरको आहुति दिएनन् तर तिनले देशका लागि आफ्नो जीवनकै जोखिम मोलेर अभिव्यक्ति दिएका छन्, पसिना दिएका छन्, कठोर जेलनेल भोगेका छन्, समग्रमा सम्पूर्ण जीवन नै देशका नाममा समर्पण गरेका छन् ।
प्रसङ्गवश गणेशमानजीले विद्यार्थीका अघि उभिएर गरेका पहिलो राजनीतिक भाषण सान्दर्भिक छ, जुन भाषणको केही महत्वपूर्ण पङ्क्ति यस्ता छन् ‘के तपाईंहरूले यत्रो मेहनत गरेर अध्ययन गर्नुभएको पेट पाल्नकै निम्ति मात्र हो त ? के तपाईंहरूको, समाज, देशका प्रति र नेपाली जनताका प्रति कुनै कर्तव्य छैन ? मानिस पेट भर्ने थैलो मात्रै होइन, सक्रिय मस्तिष्क र संवेदनशील हृदय भएको प्राणी पनि हो ।’ सन्दर्भबाट अलिक पर हटेर हेर्दा यो भनाइमा एउटा गजबको संयोग भेटिन्छ । त्यो के भने यहीँ बेहोराको भनाइ बिपी कोइरालाको समेत देखिन्छ । उनले भनेका थिए “मानिस ब्रेडले होइन ब्रेनले सञ्चालित हुन्छ ।” यी एकै खालका दुवै भनाइको अर्थ एउटै हुन जान्छ अर्थात् जनतालाई देशका लागि केही गर्नु पर्छ भन्ने सन्देश यसले दिएको छ । हेर्दै जाँदा इतिहासमा युगकवि सिद्धिचरणले “चम्क युवक चम्क न चम्क...” जस्ता प्रेरणादायी कविता लेखे र यहीँ कविताबाट प्रभावित भएर गङ्गालाल राणाविरुद्धको विद्रोहमा होमिए । विडम्बना नै मान्नु पर्छ, कतिपयले सिद्धिचरणलाई आरोप नै लगाए गङ्गालाल सहिद हुनुमा सिद्धिचरण दोषी छन्, उनले त्यो कविता नलेखेका भए गङ्गालाल जहाँसुकै त्यो कविता पढ्दै हिँड्ने थिएनन् र राणाको राज्यसत्ताका आँखामा दोषी प्रमाणित हुने थिएनन् । त्यही प्रकार बिपी, गणेशमानको देशप्रेमको यस्तो अभिव्यक्तिबाट प्रभावित भएर कतिपयले सहादत प्राप्त गरेको तथ्य इतिहासमा अङ्कित छ नै ।
उपर्युक्त अर्थमा सहिद कहलाइनलाई राज्यसत्ताको हातबाट सशरीर मर्नै पर्ने रहेछ तर सहिद हुन प्रेरणा दिने त्यस्ता कारक तत्व जो छायामा पर्ने गरेका छन्, ती त झन् सहिदभन्दा पनि महान् हुन्, तिनलाई सहिदको भन्दा माथिल्लो दर्जा दिनुपर्ला कि भन्ने आग्रह मात्र हो ।