• २१ वैशाख २०८१, शुक्रबार

हाम्रो सम्पदा

साँखुको स्वस्थानी माता मन्दिर (फोटो फिचर)

blog

काठमाडौँ, माघ १३ गते । काठमाडौँबाट अलि मास्तिर साँखु बजारदेखि केही दुरीमा रहेको तीर्थस्थल शाली नदी किनारमा रहेको निकै नै कलात्मक शैलीको प्रख्यात स्वस्थानी माताको मन्दिर रहेको छ । यस मन्दिरको गर्भ गृहमा कालो प्रस्तरको निकै नै आकर्षक र कलात्मक शैलीको स्वस्थानी माताको मूर्ति  छ । 

स्वस्थानी व्रत प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमाका दिन साङ्गे गरिन्छ। यस अवधिमा घर घरमा व्रतालुहरू स्वस्थानी कथाको वाचन गर्दछन्। स्वस्थानी कथामा  ७० वर्ष उमेरका शिव शर्मा नामक ब्राह्मणसँग सात बर्सकी गोमादेवीको विवाह भएको र तिनीहरूबाट नवराज भन्ने एक पुत्र जन्मेका थिए। स्वस्थानी माताको कृपाले उनी रावण्य देशको राजा भएको, तर उनकी रानी इन्द्रावतीले भने स्वस्थानी माताको अवहेलना गरेको कारणबाट शाली नदीमा खसी कुष्ठ रोग लागी हात खुट्टा झरेर दुःख कष्ट पाएर त्यहाँ शिला रूप भई रहेकी र पछि यी नै माताको पूजा आराधनाले रोग निको भई त्यसपछि लावण्य देश पुगी रानी भएको कथन रहेको छ।

यस अवसरमा साँखुको शाली नदीमा व्रतालुहरू बसेर कठोर पूजा अर्चना गर्दछन् भने उक्त स्थलमा मेला समेत लाग्ने गर्दछ। भक्तजनहरूको यस पर्वमा अत्यधिक भीड हुने गर्दछ। धार्मिक एवं पवित्र शाली नदी किनारमा यस स्वस्थानी माताको मन्दिर बाहेक अन्य गणेश, भैरव, हनुमान, विष्णु, महादेव, नवराज, राधाकृष्ण, इन्द्रावती र डोलेहरूका मूर्तिहरूका साथै माधव नारायणको मूर्ति पनि छ। स्वस्थानी ब्रत कथामा बर्णन गरे अनुसार नवराजको राज्य लावण्य देश साँखु थियो।