धरानस्थित विजयपुर नेपालको ऐतिहासिक तथा धार्मिक स्थल हो । धार्मिक ग्रन्थमा विजयपुरको पुरानो नाम ‘वेदीपुर’ उल्लेख भएको पाइन्छ । विजयपुर सुन्दर र प्रकृतिले धनी छ । विजयपुर नेपालको चारधामको नामले चिनिन्छ; जहाँ एकै स्थलमा पैदल यात्रा गरेर दर्शन गर्न सकिन्छ । चार शक्तिपीठ पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा र पञ्चकन्या हुन् । विजयपुरको दक्षिण भेगमा पिण्डेश्वर महादेवको मन्दिर, बिच भागमा दन्तकाली मन्दिर र उत्तर पूर्वतर्फ बुढासुब्बा मन्दिर र उत्तर पश्चिमतर्फ अलिक उच्च स्थानमा पञ्चकन्या मन्दिर रहेको छ ।
पञ्चकन्या मन्दिरको उत्तरपूर्वी भागको उच्च स्थानमा विजयपुरे अन्तिम राजा बुद्धिकर्ण सेन अर्थात् भताभुङ्ग दरबारको अवशेष देख्न सकिन्छ । उक्त सानो स्थान तारले घेरिएको छ, भित्र केही इँटा तथा ढुङ्गा देखिन्छन् । बुद्धिकर्ण सेन विजयपुरका अन्तिम राजा हुन् । यिनकै पालामा पृथ्वीनारायण शाहको एकीकरण अभियान अन्तर्गत विजयपुर राज्य सिङ्गो नेपालमा गाभियो । अवशेष स्थलमा ढुङ्गाको एक शिलालेख छ; जहाँ कोरिएको छ ः त्यसताका पूर्वी नेपालको राजधानी विजयपुर र त्यहाँको संस्थापक राजा विजयनारायण थिए भने अन्तिम राजा बुद्धिकर्ण सेन थिए । हिजोआज मुलुकका विभिन्न स्थान र विदेशबाट पनि विजयपुर हेर्न र यहाँका शक्तिपीठमा दर्शनका लागि भक्तजन आउने गर्दछन् ।
(क) पिण्डेश्वरधाम
पिण्डेश्वरको पूर्ण नाम ‘अमृतपिण्ड पिण्डेश्वर महादेव’ हो । मन्दिरको प्रमुख आकर्षण अर्थात् पूजन स्थल त्यहाँस्थित अमृतपिण्ड शिवलिङ्ग नै हो । पिण्डेश्वरधाम विजयपुरको दक्षिण पाटो वा पुछारमा पर्दछ; जहाँबाट धरानको पुरानो बजारमा सजिलै झर्न सकिन्छ । शक्तिपीठको पूर्वी उत्तरी भागमा सेवती नदी पर्दछ भने दक्षिणी भागमा धरान बजारको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।
मन्दिरको लगभग दुई किमी उत्तरमा रहेको छ । नेपालको एक मात्र पुरानो पिण्डेश्वर क्याम्पस जुन पूर्वीय क्षेत्रमा संस्कृत पाठशालाका रूपमा चिनिँदै आएको छ । मन्दिरअगाडि पश्चिमतर्फ ऐतिहासिक पोखरी र एक इनार पनि छ । पोखरीको बिचमा धातुबाट बनेको भगवान् सरस्वतीको प्रतिमा अवस्थित छ; जसले पोखरीको सुन्दरता, परम्परा र धार्मिक महत्वलाई प्रस्टै झल्काउ“छ ।
पिण्डेश्वर मन्दिर चारैतिर बाक्ला वनले घेरिएको एकान्त स्थानमा अवस्थित छ । बाहिरबाट झट्ट हेर्दा मन्दिरको स्वरूप ठुलो लाग्दैन तर भित्र प्रवेश गरिसकेपछि यो फिजारिएको छ । सानाठुला गरी १० भन्दा बढी पूजन स्थल छन् । भक्तजन सर्वप्रथम पश्चिमी गणेशको मन्दिरबाट पूजन यात्रा प्रारम्भ गर्छन् । पिण्डेश्वर शिवलिङ्गको ठिक अगाडि ढुङ्गाबाट निर्मित एक ठुलो बसाहा छ । त्यसअगाडि होचो मुख्य द्वारमा झुन्डिएका घन्टाहरू बजाउँदै पिण्डेश्वर शिवलिङ्ग स्थलमा सजिलै पुग्न सकिन्छ । पिण्डेश्वर शिवलिङ्ग स्थल प्रवेश गर्दा प्रायः तीनचोटि मन्दिरको भित्री भाग परिव्रmमा गर्ने चलन छ ।
त्यस क्रममा त्यहाँ अवस्थित पाँच वटा देवीदेवताको समेत दर्शन गर्ने गरिन्छ । अमृतपिण्ड महादेवको प्रमुख स्थलभित्र छिर्दा निहुरेर छिर्नुपर्ने हुन्छ किनकि यो धेरै होचो छ । भित्र प्रवेश गर्नेबित्तिकै पिण्डेश्वर शिवलिङ्ग र छेउमा हरसमय बलिरहने दिव्यज्योति देख्न सकिन्छ । अँध्यारोमा रहेको देवस्थललाई दिव्यज्योतिले सदा प्रज्वलित र प्रसन्न राख्ने प्रयास गरिन्छ । मन्दिरको लामो बरण्डा नै यसको प्रवेश स्थल हो; जहा“बाट मुख्य तथा सहायक पूजन स्थलमा पुग्न सकिन्छ ।
विशेष दिन, तिथि तथा पर्वमा मन्दिर खचाखच हुने गर्दछ । पिण्डेश्वर स्थलमा भक्तजन विशेषतः साउन महिनाको सोमबार, अष्टमी, कात्तिक पूर्णिमा, माघेसङ्क्रान्ति, महाशिवरात्रि पर्व आदिमा आउने गर्दछन् र आआफ्ना इच्छापूर्तिका लागि पिण्डेश्वर शिवलिङ्गमाथि जल, फल, फूल, भेटी आदि अर्पण गर्दछन् भने कसैले रुद्री पाठ, लघुरुद्र पाठ, महिम्नस्तोत्र पाठ, पिण्डेश्वरस्तोत्र पाठका साथै पितृको उद्धारका लागि पिण्डदान, श्रीमद्भागवत पाठ, वेदपाठसमेत स्वयं वा ब्राह्मणमार्फत गराउने गर्दछन् । यहा“ बेलाबेलामा विभिन्न सङ्घसंस्थाको सहयोगमा सामूहिक व्रतबन्ध, विवाह, गुन्युँचोलीलगायत संस्कारका कार्यक्रम हुने गर्दछ ।
विशेष गरेर साउन महिनामा यहाँ ठुलो मेला लाग्ने गर्दछ । त्यस अवसरमा भक्तजन ‘बोलबम’ जाने गर्दछन्; जहाँ पहेलो गेरु वस्त्र धारण गरी खाली खुट्टा हिँड्दै ‘बोलबम’ भन्दै चतराबाट सप्तकोशी नदीको जल बोकी बाबा पिण्डेश्वरमा अर्पण गर्ने गर्दछन् । यसरी भगवान् शिवलाई जल अर्पण गर्दा पाप काटिने र मनोकामना सिद्ध हुने धार्मिक विश्वास रहेको पाइन्छ । साथै अनन्य भावले यहाँ भगवान् पिण्डेश्वरको पूजन रुद्राष्टाध्यायीको पाठ, महिम्नस्तोत्र पाठ, पिण्डेश्वरस्तोत्र पाठ, वेदपाठका साथै रुद्रसूक्त पाठ गरेमा भक्तजनको इच्छा पूर्ति हुने विश्वास गरिन्छ । प्रत्येक छ/छ वर्षमा चतरा धाममा पिण्डेश्वर अर्धकुम्भ महोत्सव र प्रत्येक १२/१२ वर्षमा पिण्डेश्वर पूर्णकुम्भ महोत्सव लाग्ने गर्दछ ।
(ख) दन्तकाली शक्तिपीठ
विजयपुरको बिच भागमा अवस्थित महत्वपूर्ण मन्दिर हो– दन्तकाली माता । यसको उत्तरपूर्वतर्फ बुढासुब्बा र उत्तरपश्चिमतर्फ पञ्चकन्या मन्दिर रहेको छ भने दक्षिणतर्फ पिण्डेश्वर मन्दिर पर्दछ । धरान जाने जो कोही पनि दन्तकाली माताको दर्शन गर्ने गर्छन् । विजयपुरको इतिहास खोतल्दा सतीदेवीको दन्त पतन भएको कथा र दन्तकाली मन्दिरको अवस्थिति एवं पाँच सय वर्षअघि बङ्गालका राजाले जीर्णोद्धार गरेको पिण्डेश्वर मन्दिरको अभिलेखबाट भयो स्थान पुरातात्त्विक, पौराणिक एवं ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको छ ।
पौराणिककालमा महादेवकी पत्नी सतीदेवीको मृत्युपश्चात् दन्त पतन यही स्थलमा भएकाले ‘दन्तकाली मन्दिर’ रहेको धार्मिक विश्वास छ । यज्ञकुण्डमा सतीदेवीले प्राण त्याग गरेपछि पति महादेव उक्त स्थानमा आई सतीदेवीको शवलाई काँधमा बोकेर पागल जस्तै पृथ्वीमा भौतारिँदै हिँड्नु भएछ ।
सतीदेवीको शरीर गल्दै ५१ टुक्रामा विभाजित भई पृथ्वीको विभिन्न स्थानमा खस्न पुगेछ । जसमध्ये विजयपुरको पर्वत खण्डमा दाँत खसेको स्थल दन्तकालीका नामबाट परापूर्वकालदेखि नै पूजित हुँदै आएको धार्मिक तथा ऐतिहासिक तथ्य छ । भनिन्छ, यहाँ सतीदेवीको दाँत अझै पनि सुरक्षित छ । यहाँ देश विदेशका भक्तजन आउने र आआफ्नो मनोकामना पूरा गर्ने गर्छन् ।
ऐतिहासिक प्रमाणका आधारमा पनि यो शक्तिपीठ सेनवंशीय राजाका पालामा पनि रहेको र नेपालको पुरातत्व विभागद्वारासमेत यहाँ रहेका इँटा, घन्धधटा, ताम्रपत्र र राजकीय पत्रको समेत अवलोकन गर्दा विसं १८५७ भन्दा पनि पहिलेदेखि यो शक्तिपीठ यही नामबाट रहँदै आएको देखिन्छ । प्रत्येक वर्ष चार वटा नवरात्र असोज, माघ, चैत र असार महिनामा विधिवत् पूजाअर्चना गरिन्छ ।
दन्तकाली माता असोज शुक्ल पक्षमा सुतेर उठ्ने, माघ शुक्ल पक्षमा भोजन गर्ने, चैत्र शुक्ल पक्षमा शयन गर्ने र आषाढ शुक्ल पक्षमा कोल्टे फेरेर सुत्ने धार्मिक मान्यता र विश्वास गरिन्छ । उक्त अवसरमा मन्दिर परिसरमा माताको प्रसन्नताका लागि भक्तजनले आफू स्वयम् वा कुनै वैदिक ब्राह्मणको माध्यमबाट दुर्गा सप्तशतीको पाठ नौ दिनसम्म गरिन्छ र मन्दिर परिसरमा रहेको यज्ञकुण्डमा हवनसमेत गरिन्छ ।
नवरात्रिको अवसरमा मन्दिरमा विशेष कार्यक्रमका साथै विशेष पूजाअर्चना र स्तोत्र पाठ गरिन्छ । प्रत्येक वर्ष घटस्थापनाको दिनदेखि विजयादशमीसम्म अझ अष्टमी, नवमी र दशमीको दिन शुभ मानिन्छ, जहा“ थेगिनसक्नुको भिड हुन्छ । उक्त दिन दुर्गाको पूजा तथा आराधनाबाट निरोगी रहने, दुःख दरिद्र नहुने, शत्रुवर्गबाट डराउनु नपर्ने र सदा पराक्रम रहने धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्य मान्यता रहिआएको छ ।
(ग) बुढासुब्बा मन्दिर
बुढासुब्बा मन्दिर दन्तकाली मन्दिरदेखि पूर्वउत्तर दिशामा पर्दछ । पूर्वी नेपालको लोकप्रिय शक्तिपीठका रूपमा चिनिन्छ बुढासुब्बा । यो मन्दिर विजयपुरस्थित बुढासुब्बा मार्गमा सेउती नदीको पश्चिमी तटको डाँडामा अवस्थित छ; जहा“बाट सेवती नदी र पारिका डाँडाकाँडाका मनोरम दृश्य सजिलै देख्न सकिन्छ । मन्दिरको उत्तरी भाग; जहा“ मनोरम दृश्य अवलोकनका लागि विशेष स्थान निर्माण गरिएको छ ।
त्यसै गरी मन्दिरको अगाडि ठुलो घन्टा छ र त्यसको नजिकै पशुबलि स्थल छ । यो मन्दिर सिद्धबाबापीठ बुढासुब्बाको एक समाधिस्थलका रूपमा इतिहासदेखि नै चिनिँदै आएको छ । नेपालका विभिन्न स्थानमा बसोबास गर्ने जाति तथा जनजातिहरू समाधिस्थलको दर्शन एवं पूजन कार्य मात्र नगरेर आफ्नो मनोकामना सिद्धिका लागि भाकल गर्ने र सो प्राप्त भएमा पशुबलि चढाउने प्रथा रहिआएको पाइन्छ ।
यहा“ प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन ठुलो मेला लाग्ने गर्दछ र उक्त मेला भर्न स्वदेश तथा विदेशबाट समेत भक्तजन आउने गर्दछन् । मन्दिरका वरपर रहेका बा“सघारीमा नजर दौडाउँदा अचम्मको दृश्य देख्न सकिन्छ, त्यो के भने बा“सका टुप्पा नहुनु वा बिलकुलै ठुटा वा मुडुला बाँस मात्र देखिनु ।
आखिर यस्ता अनौठा बाँस परापूर्वकालदेखि नै कसरी विकसित भए होलान् वा कसले बीजारोपण ग¥यो होला शोधको विषय बनेको छ ।
बुढासुब्बा मन्दिरमा वैशाख शुक्ल पूर्णिमाका दिन बाँस र त्यसका हाँगा काट्ने र उक्त बाँस र हाँगा सुरक्षाका निम्ति घर घरमा ल्याई राख्ने प्रचलन पनि छ । नियमित भक्तजन विश्वासका आधारमा यहाँ आई पूजाआजा गरेमा मनकामना पूर्ण हुने जनविश्वास छ ।
मन्दिर अगाडिको भागमा मानिसले आफूले चिताएको पुग्छ भन्ने हेतुले रङ्गीचङ्गी विभिन्न खालको डोरा बारमा बाँध्ने गर्छन् । मन्दिरभित्र रहेको समाधिस्थल कसको हो भन्नेबारे मतमतान्तर रहेको पाइए पनि शक्तिपीठका रूपमा उभिएको यो ऐतिहासिक धरोहरको महिमा भने अपरम्पार छ ।
साँच्चै भन्ने हो भने धरान घुम्न जाने जो कोही पनि विजयपुर डाँडामा अवस्थित शक्तिपीठहरू दन्तकाली, बुढासुब्बा र पिण्डेश्वरधामको दर्शन गर्ने मौकालाई बिरलै गुमाउन चाहन्छन् । यथार्थमा कुनै वीरपुरुष एवं सिद्धबाबाले कसैद्वारा प्रदत्त मद्य, मांस एवं भोग आदि मन पराउँदैनन् भन्ने मान्यता राखे पनि जनमानसको विश्वास र धारणाका आधारमा भक्तजनले बुढासुब्बाको प्रसन्नताका लागि बलि एवं भोग दिने गरेको बताउ“छन् ।
बुढासुब्बाका बारेमा केही किंवदन्ती सुनिने गरिए पनि यसबारे स्पष्ट धारणा अझैसम्म पनि आउन सकिएको छैन । मन्दिरभित्र कुनै मूर्ति छैन मात्र ठुला, मझौला र साना ढिस्का छन्; जसको पूजाआजा गरिन्छ । त्यही ढिस्का नै बुढासुब्बा शक्तिपीठ यानि पराम्परागत अद्भुत एक समाधिस्थल हो । बुढासुब्बाको कुनै न कुनै रूपमा पुजन क्रम प्राचीन समयदेखि हुँदै आएको र व्यवस्थित रूपमा भने विसं २०१५ सालदेखि सुरु भएको बताइन्छ । यथार्थमा यो समाधिस्थललाई किराँतेश्वरका रूपमा पुज्ने गरिन्छ ।
(घ) पञ्चकन्या शक्तिपीठ
दन्तकाली मन्दिरदेखि उत्तर र बुढासुब्बाको उत्तरपश्चिमतर्फ पर्दछ पञ्चकन्या शक्तिपीठ । यो विजयपुरको अग्लो स्थानमा अवस्थित छ; जहाँ मन्दिर परिसरको देब्रे भागमा पाथीभरा देवीको मन्दिर रहेको छ भने दाहिने भागमा पञ्चकन्या भगवतीको मन्दिर रहेको पाइन्छ । यसका वरिपरि जङ्गल छन्, जङ्गलै जङ्गल उत्तरपूर्वतिर लागे भताभुङ्ग दरबारको अवशेष स्थान पुगिन्छ ।
जङ्गलमा विभिन्न जातका वनस्पति सखुवा, करम, वर, पिपल आदि वृक्ष देखिन्छ । त्यहाँ वनभोज स्थल पनि छ । विशेषतः गर्मीको समयमा यो क्षेत्र वनभोजका लागि उपयुक्त मानिन्छ । पाँच कन्या एकै समूहमा मन्दिर प्रवेश गर्नु हुँदैन भन्ने मान्यता रहेको स्थानीयवासी बताउँछन् । आध्यात्मिक हिसाबले प्राणायाम र ध्यानका लागिसमेत यो उपयुक्त स्थल हो । पञ्चकन्या देवी भन्नाले अहिल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोदरी हुन् ।