• १३ साउन २०८१, आइतबार

कोशीमा मतगणना सुरु

blog

विराटनगरमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणना सुरु । तस्बिर :शशिधर पराजुली

शशिधर पराजुली
विराटनगर, माघ ११ गते ।
 विराटनगरमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । राष्ट्रिय सभा निर्वाचनमा खुला तथा महिला सदस्य पदका लागि निर्वाचन भएकोमा महिला उम्मेदवारको मतगणना सुरु गरिएको हो ।

राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा ९३ जना प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख २७४ जना गरी ३६७ जना मतदाता रहेकोमा स्थानीय तहका तीन जना प्रमुखहरू मतदानमा अनुपस्थित हुनुभएको थियो ।

निर्वाचनमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ मतदानमा सहभागी हुनुभएन ।

निर्वाचनमा ३६४ मत खसेकोमा अहिले महिलातर्फको मतगणना सुरु भएको हो । केही बेरपछि खुलातर्फको मतगणना आरम्भ हुने बताइएको छ । साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि फरार हुनुहुन्छ भने गच्छदार हिजो अचानक बेहोस भएपछि उपचारमा रहनुभएको छ । धरानका प्रमुख साम्पाङले भने निर्वाचन बहिस्कार गर्नुभएको छ । यद्यपि उहाँले कार्यव्यस्तताले गर्दा मतदानमा भाग लिन नसकेको प्रतिक्रिया दिनुभएको छ ।