सिराज खान
नेपालगन्ज, वैशाख १३ गते । नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार बिहान आगलागी भएको छ । मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भई आगलागी भएको अस्पतालले जनाएको छ ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करिब तीन करोडभन्दा बढीको बहुमूल्य औषधी लगायत जलेर नष्ट भएको बताउनुभयो ।
उहाँले अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधीसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने भ्याक्सिन लगायत सबै जलेर नष्ट भएकाले तीन करोडभन्दा बढी क्षति भएको हुनसक्ने अनुमान गरिएको बताउनुभयो । आगलागीबाट केही कोठाका फर्निचर र कागजपत्रहरू पनि जलेर नष्ट भएका छन् ।
उहाँले क्षतिको विवरण सङ्कलन भइरहेकाले आइतबारसम्म मात्रै क्षतिको यकिन विवरण उपलब्ध गराउन सकिने बताउनुभयो ।
शनिबार भएकाले मेडिकल स्टोरभित्र कर्मचारी र बाहिर बिरामी तथा अन्य मानिसहरू नरहेकाले मानवीय क्षति हुन नसकेपनि भौतिक क्षति भने ठुलो परिमाणमा भएको अस्पतालले जनाएको छ ।
मेडिकल स्टोरमा आगलागी भएलगत्तै तत्काल दमकल र प्रहरीलाई खबर गरिएकाले दमकल, अस्पतालका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिन सकिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहले बताउनुभयो ।
आगलागीबाट मेडिकल स्टोरमा रहेका अधिकांश औषधी जलेर नष्ट भएका छन् । आगलागीका कारण सर्ट सर्किट बताइए पनि सो बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।