• २२ वैशाख २०८१, शनिबार

राष्ट्रिय सभा मतदान : बागमतीमा तीन जना अनुपस्थित

blog

राष्ट्रिय सभाको सदस्य निर्वाचनका लागि हेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा भएको मतदान । तस्बिर : राममणि दाहाल

राममणि दाहाल 

हेटौँडा, माघ १२ गते। राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान सम्पन्न भएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० निर्वाचन अधिकृतको कार्यालय, बागमती प्रदेशले निर्वाचनमा प्रदेश सभाका १०८ जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३४ जना गरेर ३४२ जनाले मतदान गरेको जनाएको छ।

प्रदेश सभातर्फ दुई जना र स्थानीय तहतर्फ तीन जना मतदाता अनुपस्थित रहेको निर्वाचन अधिकृत निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिनुभयो। उहाँले मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउँदै केही समयपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताउनुभयो।

प्रदेश सभामा दुई जना सदस्य रहेको हाम्रो नेपाली पार्टीका प्रदेश सभाका सदस्य मतदानमा सहभागी भएन। हाम्रो नेपाली पार्टीका प्रदेश सभाका सदस्य शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गी मतदानमा सहभागी नहुनुभएको हो। प्रदेश सभा सदस्य खड्गीले बिरामी भएर आफू अस्पतालमा भर्ना भएको बताउनुभयो।

यस्तै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ र काभ्रेपलाञ्चोकको चौँरी देउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर लामा (तामाङ) अनुपस्थित हुनुभएको हो। चौँरी देउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर बिरामी रहेको जनाइएको छ। 

बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेल, मन्त्रीहरू, ललितपुर महानगरपालिकाका प्रमुख, भरतपुर महानगरपालिकाका प्रमुख, काठमाडौँ महानगरपालिका उपप्रमुखलगायतले मतदान गर्नुभएको छ।

यस प्रदेशमा अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लष्टर) बाट चार जना राष्ट्रिय सभा सदस्यका लागि मतदान भएको थियो। हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा रहेको मतदान स्थलमा रहेको दुई वटा मतदान केन्द्रमा मतदान भएको थियो।

मतदान बिहान ९ बजेदेखि सुरु भएको र दिउँसो ३ बजे सम्पन्न भएको थियो। विद्यालय परिसरमा रहेको मतदान स्थलमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको थियो।

राष्ट्रिय सभा सदस्यका लागि यस प्रदेशमा १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। यस प्रदेशमा नेपाली कांग्रेसबाट अन्यतर्फ जीतजङ्ग बस्नेत र महिलातर्फ विष्णुदेवी पुडासैनीको उम्मेदवार हुनुहुन्छ।

सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्रले अपाङ्गताबाट श्रीकृष्णप्रसाद अधिकारीलाई र नेकपा एकीकृत समाजवादीले दलिततर्फबाट घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ। 

यसैगरी नेकपा एमालेबाट महिलातर्फ रोचकुमारी चौलागाईँ, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अल्पसङ्ख्यक÷अपाङ्गता भएकाबाट विवेक देवकोटा र दलिततर्फ ध्रुवराज विश्वकर्माको उम्मेदवारी रहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी, अल्पसङ्ख्यकतर्फ भरतमणि भट्ट र अन्यतर्फ हेमजङ्ग गुरुङ उम्मेदवार हुनुहुन्छ।

यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट अपाङ्गतातर्फ भक्तपुरका हिमालयश्वर मूल, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जन, दलिततर्फ भक्तपुरका सङ्गीता नेपाली र महिलातर्फ भक्तपुरकै कृष्णलक्ष्मी दुवालको उम्मेदवारी रहेको छ।

प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १९ कायम गरिएको छ। प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको गरी कुल मतभार १० हजार ३३३ मतभार रहेको छ। सबैभन्दा बढी मतभार ल्याउने उम्मेदवार आफ्नो क्लष्टरबाट निर्वाचित हुने छन्।