• १३ साउन २०८१, आइतबार

राष्ट्रियसभा सदस्य निर्वाचन

पोखरा महानगर प्रमुख र प्रदेशसभा सदस्यद्वारा मतदान

blog

गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान जारी । तस्बिर :रमेश पौडेल/फडिन्द्र अधिकारी

रमेश पौडेल/फडिन्द्र अधिकारी
लेखनाथ, माघ ११ गते ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा पोखरा महानगरका प्रमुख धनराज आचार्य र प्रदेशसभातर्फ कास्कीका प्रदेशसभा सदस्य भीमबहादुर कार्कीले मतदान गर्नुभएको छ ।

बिहीबार बिहान ९ बजेबाट सुरु भएको गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रमुख आचार्य र प्रदेशसभा सदस्य कार्कीले मतदान गर्नुभएको हो ।

बिहान ११ बजेसम्म दुई सय जनाले मतदान गरिसक्नुभएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशसभातर्फ ४७ जना र स्थानीय तहतर्फ एक सय ५३ जनाले मतदान गरिसक्नुभएको छ । अब प्रदेशसभातर्फ १३ जना र स्थानीय तहतर्फ १७ जनाले मात्र मतदान गर्न बाँकी छ ।

गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गतातर्फ पदम परियार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने महिलातर्फ माओवादी केन्द्रका मनरुपा शर्मा सुवेदी उम्मेदवार हुनुहुन्छ । नेकपा (एमाले)बाट महिलातर्फ सम्झना देवकोटा, अन्यतर्फ चक्रबहादुर पराजुली र अपाङ्गतातर्फ हेमन्त शेरचन चुनावी मैदानमा आउनुभएको छ । राप्रपाबाट अन्यतर्फ रोमबहादुर भण्डारी र महिलातर्फ गौमाया श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ ।

गण्डकीमा कुल २३० मतदाता छन् । गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरुले समेत मतदान गरिसक्नुभएको छ । निर्वाचन कार्यालयबाहिर सङ्घीय गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत उपस्थित हुनुहुन्छ । उहाँ गण्डकीबाटै राष्ट्रियसभामा चुनिनुभएको थियो । गृहमन्त्री श्रेष्ठले निर्वाचन कार्यालयमा गई शान्ति, सुरक्षा र मतदानको अवस्थाबारे जानकारी लिनुभएको छ ।


गण्डकी प्रदेशमा अन्य, महिला र अपाङ्ता/अल्पसङ्ख्यकमा एक/एक गरी तीन पदमा निर्वाचन हुँदैछ । राष्ट्रिय सभाका अध्यक्षसमेत रहनुभएका गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रियसभा सदस्यहरु दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लाग्दा निर्वाचन भएको हो । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

यस्तो छ दलहरुको अवस्था
यस पटक प्रदेशसभा सदस्यको ५३ र स्थानीय तह प्रमुख/उपप्रमुखको मतभार १९ तोकिएको छ । गण्डकीमा प्रदेशसभामा ६० सदस्य र ८५ पालिकाबाट एक सय ७० मतदाता छन् । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० मतभार छ । प्रदेशमा कुल मतभार छ हजार ४१० छ ।

गण्डकी प्रदेशसभामा कांग्रेसका २७ सदस्य छन् भने स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ जना छन् । यसरी प्रदेशमा काङ्ग्रेसको मतभार दुई हजार तीन सय २४ छ । नेकपा एमालेका २२ प्रदेश सभा सदस्य, पालिका प्रमुख ३५ र उपप्रमुख ३३ जना छन् ।

एमालेको कुल मतभार दुई हजार चार सय ५८ हुन आउँछ । तीमध्ये ढोरपाटन नगरपालिकाका प्रमुख देवबहादुर नेपाली सरकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन हुनुहुन्छ ।


प्रदेशमा माओवादीसँग आठ प्रदेशसभा सदस्य, पालिका प्रमुख ११ र उपप्रमुख १९ जना छन् । माओवादी केन्द्रसँग नौ सय ९४ मतभार देखिन्छ । प्रदेशमा एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्य र एक नगर प्रमुख छन् । यहाँ समाजवादीसँग ७२ मतभार छ । प्रदेशसभामा प्रतिनिधित्व नरहेको राष्ट्रिय जनमोर्चाका पालिका प्रमुख दुई र उपप्रमुख एक हुँदा मतभार ५७ छ । दुई प्रदेशसभा सदस्य रहेको राप्रपाको एक सय छ मतभार छ । मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जित्नुभएको हो ।

अहिले सत्ता गठबन्धनमा रहेका दलहरु कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा मिल्दा गठबन्धनको मत तीन हजार आठ सय २७ हुन्छ ।