मातृदेवो भवः पितृ देवो भवः आचार्य देवो भवः, आमा बुवा र गुरु देवता समान हुन् भन्ने पूर्वीय दर्शनको मान्यता रही आएको छ । ज्येष्ठ नागरिकप्रति गरिने श्रद्धा, आदर तथा उहाँहरूप्रति देखाउने सद्भावले हामीलाई साक्षात् देवी/देवताकै शरणमा पुगेको महसुस हुन्छ । यी वस्तुगत यथार्थलाई हाम्रा धर्मग्रन्थ मात्र होइन, नेपालको संविधानलगायत अन्य कानुनमा लिपिबद्ध गरिएको छ । ज्येष्ठ नागरिकले राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक पाउनु पर्छ तथा ज्येष्ठ नागरिकको संरक्षण, सशक्तीकरण एवं विकासका लागि विशेष व्यवस्था गर्न सकिने प्रावधान मौलिक हकमा गरिएको छ । त्यसै गरी ज्येष्ठ नागरिकलगायत सबै उमेर समूहको आधारभूत मानव अधिकार सुनिश्चित गराउने आधारभूत विषयलाई दिगो विकास लक्ष्यमा पनि समेटिएको छ । पूर्वीय दर्शन, विश्वव्यापी लक्ष्य र हाम्रा आफ्नै कानुनका प्रावधानलाई व्यवहारमा रूपान्तरण गरी मुलुकको अभिन्न अङ्ग तथा सामाजिक पुँजीको रूपमा ज्येष्ठ नागरिकको परिचालन र उपयोग गर्नु पर्ने आवश्यकता छ ।
वृद्धवस्थाका आयाम
मानिसको जीवनचक्रमा स्वाभाविक रूपमा आउने वृद्धावस्थालाई बहुआयामिक रूपमा हेर्न सकिन्छ । आफूले आफैँसँग तुलना गर्दा पनि हामी प्रत्येक दिन बुढो भइरहेकै हुन्छौँ । जैविक मान्यताले यसलाई शारीरिक र मानसिक अवस्थासँग जोडेर हेर्छ भने मनोवैज्ञानिक अवधारणाले मनोसंवेगात्मक रूपका साथै समाजसँगको अन्तरसम्बन्ध र सामाजिक भूमिकासँग दाँजेर हेर्छ । यी सबै पक्षलाई आधार मानेर संयुक्त राष्ट्रसङ्घले ६० वर्ष तथा सोभन्दा माथिको उमेर समूहलाई ज्येष्ठ नागरिकको रूपमा परिभाषित गरेको छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले पनि ६० वर्ष उमेर पूरा गरेको नेपाली नागरिकलाई ज्येष्ठ नागरिकको रूपमा परिभाषित गरी सोबमोजिम आवश्यक प्रबन्ध गर्ने गराउने व्यवस्था छ तर निजामती सेवा, विश्वविद्यालय, सार्वजनिक विद्यालय, अदालतलगायतका सार्वजनिक निकायमा अनिवार्य अवकाशको उमेर फरक फरक छ । अनिवार्य अवकाशको उमेरलाई मनोवैज्ञानिक रूपमा वृद्धावस्थामा प्रवेश गर्ने बिन्दुको रूपमा लिँदा निजामती सेवाबाट अनिवार्य अवकाश लिएको पाँच छ वर्ष पूरा गरेको व्यक्तिले आफूलाई धेरै बुढो महसुस गरिरहेको हुन्छ तर त्यही हाराहारीको उमेरको सर्वोच्च अदालतको न्यायाधीशले भने न्यापालिका सुधारको कार्ययोजना उत्साहका साथ प्रस्तुत गरिरहेको हुन्छ । यसैले उमेरको कुन बिन्दुबाट खासमै वृद्धाववस्था सुरु हुन्छ भनी परिभाषित गर्न भने व्यावहारिक रूपमा कठिन छ ।
विश्वव्यापी जनसाङ्ख्यिक संरचनामा ज्येष्ठ नागरिकको अंश बढ्दै जानु अब स्वाभाविक प्रवृत्ति भएको छ । सन् २०१९ मा प्रति ११ जनामा एक जना ६५ वर्षभन्दा माथिको जनसङ्ख्या रहेकोमा सन् २०५० मा प्रति छ जनामा एक जना ६५ वर्षभन्दा माथिको जनसङ्ख्याको संरचना हुने प्रक्षेपण संयुक्त राष्ट्रसङ्घले गरेको छ । अहिले कतिपय विकसित देश ‘सुपर ओल्ड सोसाइटी’ मा प्रवेश गरिसक्दा नेपाल भने अझै पनि जनसाङ्ख्यिक लाभांशको अवस्थामा नै छ । यद्यपि यो संरचना क्रमशः कम हुँदै गएको छ । विसं २०६८ मा ८.१३ प्रतिशत रहेको ज्येष्ठ नागरिकको जनसङ्ख्या २०७८ सालमा आउँदा १०.२१ प्रतिशत पुगिसकेको छ ।
मानवीय जीवनचक्रको अन्तिम बिन्दु वृद्धावस्था हो । यो हामी सबैले अनुभव गर्नै पर्छ । उमेरको बढोत्तरीसँगै आउने शारीरिक, मानसिक, भावनात्मक तथा संवेगात्मक परिवर्तनमा परिवार, समाज र राज्यबाट पाउने माया, ममता, सद्भाव, स्नेह, उचित स्याहार, सुसारसहित सामाजिक सुरक्षाको सुनिश्चितताले नै वृद्धावस्था सुखी, खुसी र आनन्दित हुन सक्छ । एजिङ सिद्धान्तका अनुसार जीवनचक्रको एउटा चरण पार गरेपछि मानिस वृद्ध अवस्थामा प्रवेश गर्छ । यस्तो अवस्थामा आउने शारीरिक, मानसिकलगायत परिवर्तनमा परिवार, समाज र राज्यले उचित ध्यान दिई उनीहरूको जीवनलाई सुखमय बनाई दिनु पर्छ । एक्टिभिटी सिद्धान्तले वृद्धावस्थामा आउने शारीरिक कमजोरी तथा दुर्बलताका कारण विगतमा जस्तो सक्रिय हुन नसक्ने भएकाले उनीहरूलाई सक्रिय बनाउने वातावरण तयार गरिदिनु पर्छ ।
सामाजिक सुरक्षाले मात्र हुँदैन
बेलायतबाट सन् १९०८ बाट सुरुवात भएको ज्येष्ठ नागरिक पेन्सन सुविधा नेपालमा आर्थिक वर्ष २०५२/५३ मा मात्र सुरुवात गरियो । यसले अधिकांश ज्येष्ठ नागरिकलाई आर्थिक रूपमा सुरक्षित बनाएको छ भने अहिले नेपाल सरकारलगायत प्रदेश र स्थानीय तहबाट पनि विभिन्न नीतिगत, कानुनी, संस्थागत प्रबन्ध भएका छन् । यसका साथै व्यक्तिगत तह, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबाट पनि ज्येष्ठ नागरिकका क्षेत्रमा धेरै काम भएका छन् । यस्ता कार्यक्रममा मूलतः हेरचाह केन्द्र, दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र, यातायात सुविधा, स्वास्थ्य तथा औषधोपचार सेवा, जीवनचक्रमा आधारित अनिवार्य र सर्वव्यापी सामाजिक सुरक्षालगायत छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले ज्येष्ठ नागरिकको व्यवस्थापनसम्बन्धी जिम्मेवारी पालिकाले गर्नुपर्ने प्रबन्ध गरेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले वृद्धावस्था पेन्सन स्किमको समेत व्यवस्था गरेको छ । मुलुकी देवानीसंहिता, २०७४ मा आफ्ना आमाबालाई आदर, स्याहार, सम्भार, औषधोपचार र हेरचाह गर्नुपर्ने बाध्यकारी कानुनी प्रबन्ध गरी प्रत्येक छोराछोरीको दायित्वबोध गराइएको छ ।
अब प्रश्न उठ्छ यस्ता नीति तथा कानुन बनाउँदैमा ज्येष्ठ नागरिकप्रतिको दायित्व पूरा हुन्छ त । संयुक्त परिवारबाट क्रमशः एकल (न्युक्लियर) परिवारमा जाँदै गरेको हाम्रो समाजको बनोटमा हजुरबुवा हजुरआमाहरू आफ्ना नातिनातिनीबाट टाढा रहन बाध्य छन् । अझ अहिलेको सामाजिक सञ्जाललगायतको प्रविधिमय अवस्थाले गर्दा एकैसाथ बसेका परिवारका सदस्यबिच एकापसमा संवाद नै साह्रै कम हुने अवस्था सिर्जना भएको छ । यसको प्रत्यक्ष नकारात्मक असर ज्येष्ठ नागरिकमा परेको छ । नयाँ पुस्ताले पुराना पुस्ताको कुरा सुन्न चाहँदैनन् वा उनीहरूलाई यसका लागि फुर्सद नै छैन । गाउँबाट सहर र सहरबाट विदेश जाने युवाको लहर र लहडले गाउँ मात्र होइन, सहरमा पनि ज्येष्ठ नागरिक एक्लै हुनुपर्ने अवस्था क्रमशः बढ्दै गएको छ । अर्कोतर्फ आफ्ना सन्तान विदेशमा भएका कारण चाहेर वा नचाहेर त्यो व्यस्त तर आफ्ना लागि पट्यारलाग्दो जीवनशैलीमा बस्न बाध्य हाम्रा पाका पुस्ताको अवस्था कस्तो होला ?
पुस्तान्तरणको प्रश्न
ज्येष्ठ नागरिकको आफ्नो जीवनका भोगाइ, अनुभव, सङ्घर्ष मात्र होइन उनीहरूसँग रहेको अथाह अनुभव, ज्ञान तथा सिपलाई सामाजिक पुँजीको रूपमा परिवार, समाज र समग्र मुलुकले कसरी ग्रहण, संरक्षण र उपयोग गर्ने यो अहम् प्रश्न हो । अर्कोतर्फ युवामा रहेको नवीन सोच, नवप्रवर्तन र उत्साहलाई पाको पुस्तासम्म पु¥याउनु पनि त्यत्तिकै आवश्यक छ । यस्तो गर्न सकिएमा यसले अन्तरपुस्ता आबद्धतालाई बढाउँछ । यसका लागि ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान भन्ने राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को नारालाई परिवार तहसम्म संस्थागत गर्नु पर्छ ।
कसले के गर्ने ?
स्मार्ट ज्येष्ठ नागरिकको पहिलो सर्त नै ज्येष्ठ नागरिक स्वयम्ले आफ्नो उमेर र उमेरसँगै आउने विभिन्न परिवर्तनलाई स्वाभाविक रूपमा स्वीकार गरी सो अनुरूप आफूलाई शारीरिक रूपमा सक्रिय, सामाजिक रूपमा क्रियाशील तथा संवेगात्मक रूपमा सकारात्मक बनाई बदलिँदो परिस्थितिमा आफूलाई अभ्यस्त गराउनु पर्छ । आफ्ना उही पुराना र थोत्रा कुराको गनगन मात्र होइन, नयाँ पुस्ताको सोच र शैलीलाई पनि स्वीकार गर्ने क्षमता विकास गर्नु पर्छ । पछिल्लो समय विकास भएका सामाजिक सञ्जाललगायतका प्रविधिको प्रयोगमा आफूलाई अग्रसर गराई आफ्नो वरिपरि भइरहेका गतिविधिमा आफूलाई अद्यावधिक गराउनु पर्छ । सरकारी तवरबाट तीन वटै तहका सरकारले ज्येष्ठ नागरिकको वर्गीकृत तथ्याङ्क तयार गरी त्यसको आधार एकीकृत लक्षित कार्यव्रmम सञ्चालन गर्नु पर्छ । विभिन्न पेसा व्यवसायबाट निवृत्त भएका राष्ट्रसेवकको ज्ञान सिप र अनुभवलाई उपयोग गर्नेसम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरी नीतिमा पहिचान गरिएका कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने । अन्तरपुस्ता ज्ञान, सिप तथा अनुभव हस्तान्तरण अभियानका लागि सार्वजनिक तथा निजी विद्यालयका साथै ज्येष्ठ नागरिक मिलन केन्द्र, ज्येष्ठ नागरिक क्लब जस्ता संरचनाको अधिकतम उपयोग गर्नु पर्छ । छोराछोरीले आमाबाप्रतिको दायित्व बोध गर्नुका साथै उहाँहरूप्रति श्रद्धा र सम्मानको भावनामा कमी आउन नदिन आदर र सत्कार अभियान टोल टोलमा सञ्चालन गर्नु पर्छ ।
अन्त्यमा
शारीरिक, मानसिक तथा संवेगात्मक रूपमा सक्षम ज्येष्ठ नागरिकले समाज र राष्ट्रलाई योगदान दिन सक्ने भएको हुँदा उहाँहरूको जीवन सुरक्षित, सम्मानित र मर्यादित बनाउनु हाम्रो कर्तव्य र जिम्मेवारी हो । ज्येष्ठ नागरिक कसैको दयाका पात्र होइनन्, उनीहरूलाई बोझ र भार नठानी उनीहरूलाई हाम्रो भाग्य ठानौँ । अन्तरपुस्ता ज्ञान हस्तान्तरणका लागि स्वस्थ, खुसी र सव्रिmय स्मार्ट ज्येष्ठ नागरिक अहिलेको आवश्यकता हो ।