• १३ साउन २०८१, आइतबार

आठ वर्षदेखि अलपत्र पुलको काम सुरु

blog

अमरराज नहर्की 

तनहुँ, माघ ७ गते  । आठ वर्षदेखि अलपत्र रहेको शुक्लागण्डकी नगरपालिका–७ को दोभान र भिमाद नगरपालिका–८, भावर जोड्ने सेती नदीमाथिको पुलको काम सुरु भएको छ । प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले सम्पर्कविहीन ठेकेदारलाई खोजी गरी निर्माण अगाडि बढाउन निर्देशन दिएसँगै पुलको काम सुरु भएको हो । काम सुरु भएपछि पनि ठेकेदारले ढिलासुस्ती गरिरहेका थिए । त्यसप्रति पनि सांसद भण्डारीले पटक पटक ताकिता गर्नुभएको थियो ।

चालु आर्थिक वर्षभित्रै पूरा हुने गरी धमाधम काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । सडक डिभिजन कार्यालय तनहुँका सिनियर डिभिजन इन्जिनियर पशुपति ज्ञवालीले निर्माण व्यवसायी अहिले फिल्डमा आएर काम अगाडि बढेकाले छ महिनाअघि नै काम सम्पन्न हुन सक्ने बताउनुभयो । पुलको ८५ प्रतिशत काम पूरा भएको र कामको गति यसरी नै बढेमा तीन महिनाभित्र सम्पन्न हुने देखिएको उहाँले जानकारी दिनुभयो । 

पुलको ढाँचा (डिजाइन) परिवर्तन र कोभिड महामारीले गर्दा काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । समयमै पुल निर्माण नहुँदा सेतीपारिका भिमाद नगरपालिका, शुक्लागण्डकी र स्याङ्जाको हरिनास गाउँपालिकाका स्थानीय मर्कामा परेका छन् । यहाँ पक्की पुल नहुँदा दुई पाङ्ग्रे सवारी झोलुङ्गे पुलबाट जोखिम मोलेर तारिन्छ । झोलुङ्गे पुल नतर्ने हो भने भिमाद बजार घुमेर जानुपर्ने बाध्यता छ । पुल नबन्दा सेतीपारिको समग्र विकास प्रभावित भएको स्थानीयवासीको गुनासो छ । 

क्याङ्दी खोला तरेर पुल्चोक हुँदै दुलेगौँडा बजार जाने एउटा विकल्प छ । स्थानीय वर्षामा क्याङ्दी खोलाबाट सवारी वारपार नहुँदा भिमाद बजार हुँदै राजमार्गमा पुग्ने गरेका छन् । २०७२ साल असार ३० गते सम्झौता भई २०७५ असार २९ मा निर्माण सम्पन्न गर्ने गरी एड्भेन्चर कन्स्ट्रक्सन चितवनले पुलको ठेक्का पाएको थियो । २०७५ साल चैत १५ गते पहिलो पटक म्याद थप गरिएको थियो । काम नसकिएपछि २०७७ साल फागुन १४ गतेसम्म दोस्रो पटक म्याद थप गरिएको थियो । चौथो पटक चालु आर्थिक वर्षसम्मका लागि म्याद थपिएको छ । सडक डिभिजन कार्यालय दमौलीका सबइन्जिनियर दीपेन्द्र पन्थले आठ करोड ८० लाख ५० हजार ८८३ रुपियाँको लागतमा पुल निर्माणका लागि ठेक्का लागेकोमा ढाँचा परिवर्तन भएपछि ११ करोड ४८ लाख ३८ हजार ६५० रुपियाँमा पुल निर्माण गर्न लागिएको जानकारी दिनुभयो । एक महिनाको अवधिमा दुई पटक स्थलगत निरीक्षण गरी काम छिटो गर्न निर्देशन गरेको सांसद भण्डारीले बताउनुभयो । पुल अलपत्र अवस्थामा हुँदा आवतजावतमा समस्या हुनुका साथै खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानीमा कठिनाइ भएको स्थानीय बताउँछन् ।