• २५ वैशाख २०८२, बिहिबार

इच्छाकामना अस्पतालमा स्वास्थ्य बिमा सेवा सुरु

blog

शालिग्राम नेपाल 

चितवन, बैशाख २५ गते । चितवनको इच्छाकामना आधारभूत अस्पतालमा स्वास्थ्य बिमा सेवा सुरु भएको छ । बिहीबार वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर र प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले बिमा सेवाको शुभारम्भ गर्नुभएको हो । 

स्थानीयस्तरमै स्वास्थ्य बिमामार्फत उपचार हुने भएपछि इच्छाकामना गाउँपालिकाभित्रका जनतालाई उपचार सेवामा थप सहज भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरूङले बताउनुभयो । स्वास्थ्य बिमासँगै स्त्रीरोग विशेषज्ञ सेवा र रेडियोलोजिष्टसहितको विशेषज्ञ सेवासमेत बिहीबारबाट सुरु गरिएको छ । भरतपुरस्थित मौलाकालिका अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले विशेषज्ञ सेवाको व्यवस्था गरेको पालिकाका अध्यक्ष गुरूङले जानकारी दिनुभयो । 

करिब एक वर्षअघिदेखि सञ्चालनमा रहेको अस्पतालमा राजमार्ग क्षेत्र पर्ने भएको हुँदा ट्रमा सेन्टरसमेत सञ्चालनमा छ । कुरिनटारमा १५ शैयाको आधारभूत सेवा सञ्चालन हुँदा इच्छाकामना गाउँपालिकासँगै छिमेकी जिल्ला धादिङको बेनिघाट–रोराङ गाउँपालिकासँगै गोरखाको गण्डकी र सहिद लखन गाउँपालिकाका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।