• १६ भदौ २०८१, आइतबार

चार्टर उडानबाट भित्रिए धार्मिक पर्यटक

blog

काठमाडौँ, माघ ७ गते । हिमालय एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय चार्टर उडान गरेको छ । लुम्बिनीमा धार्मिक कार्यक्रमका लागि १६७ चिनियाँ यात्रु (धार्मिक पर्यटक) बोकेर नेपाल आएको उक्त जहाजले फर्किंदा धार्मिक गुरुसहित १७० जना यात्रु बोकेर शुक्रबार चीन फर्किएको हो ।

गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख हंशराज पाण्डेले भन्नुभयो, “उडानबाट भैरहवा आएका यात्रु लुम्बिनीमा आयोजना भएको धार्मिक कार्यक्रममा सहभागी भएर फर्किएका छन् ।” भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज सोझै अवतरण गर्न नसकेपछि उक्त जहाज एक रात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ भएर दोस्रो दिन बिहान भैरहवामा अवतरण भएको थियो । विमानस्थल प्रमुख पाण्डेले भैरहवामा राति साढे १२ बजे अवतरण गर्नुपर्ने जहाज प्रतिकूल मौसमका कारण अवतरण हुन नसकेपछि दोस्रो दिन मात्रै यात्रुसहित भैरहवा अवतरण भएको बताउनुभयो ।

उडान नम्बर एच ९८५२ को जहाज अवतरण गर्ने समयमा मौसम बिग्रिएपछि फर्काएर राति पौने १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न देशबाट ४२ वटा चार्टर उडान भएको उहाँले जानकारी दिनुभयो । हाल नेपाल वायुसेवा निगमले साप्ताहिक रूपमा भैरहवा–काठमाडौँ हुँदै अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । भैरहवाबाट हालसम्म ४३० वटा नियमित उडान भएका छन् ।

चार्टर उडानबाट भैरहवा आएका अधिकांश यात्रु (धार्मिक पर्यटक) श्रीलङ्का, म्यान्मार, भियतनाम, थाइल्यान्ड जस्ता मुलुकबाट आएका बौद्ध धर्मावलम्बी रहेका छन् । सन् २०२३ मा आन्तरिक र बाह्य गरी नौ लाख ९८ हजार पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । तीमध्ये छ लाख ५६ हजार आन्तरिक पर्यटक छन् ।