• १६ भदौ २०८१, आइतबार

हुँदैन वंशाणुगत रोगको अनुसन्धान

blog

काठमाडौँ, माघ ७ गते । हरेक रोग वंशाणुगत हुने भए पनि नेपालमा त्यसको रोकथाममा चासो राखिएको छैन ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को वंशाणुगत एकाइले शनिबार आयोजना गरेको कार्यक्रममा चिकित्सकले नेपालमा वंशाणुगत रोगलाई प्राथमिकता दिन नसक्दा समस्या भएको बताएका छन् ।

परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले वंशाणुगत रोगप्रति ध्यान नदिँदा रोगको पहिचान हुन नसकेको भन्दै वंशाणुगत रोगमा अनुसन्धान आवश्यक रहेको बताउनुभयो । वीर अस्पताल वंशाणुगत रोग प्रमुख डा. नीलम ठाकुरले नेपालमा वंशाणुगत रोगको उपचार वीर अस्पतालमा मात्र सुरु भएको भन्दै यसलाई देशव्यापी विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले वंशाणुगत रोगको उपचार नेपालमा नयाँ भएकाले यस बारेमा तालिम तथा प्रशिक्षणको अभाव रहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले हरेक रोगमा वंशाणुगत कारण हुने भएकाले यसको अनुसन्धानका लागि सरकारले सहयोग गर्ने बताउनुभयो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालले वंशाणुगत रोगसम्बन्धी युनिट स्थापना गरी रोग पहिचान तथा उपचारमा सहज गरेको बताउनुभयो ।