• १६ भदौ २०८१, आइतबार

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

blog

गुणबहादुर रोका 

सुलीकोट, माघ ५ गते । गोरखाको गण्डकी गाउँपालिकाले गर्भवती तथा सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । गाउँपालिका भित्रका गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य संस्था आउन जान सहज बनाउन निशुल्क एम्बुलेन्स सुरु गरिएको गण्डकी गाउँपालिकाले जनाएको छ । 

चालु आर्थिक वर्षबाट गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुन नसकी बाहिर रिफर गरेकाहरुका लागि पनि निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमेल्सना ‘साकार’ ले जानकारी दिनुभयो । 

गाउँपालिकाका ३ वटा स्वास्थ्य संस्थाले एम्बुलेन्स सेवा प्रदान गर्दै आएका छन् । जसमा मकै सिङ प्राथमिक स्वास्थ्य केन्द्र, दर्बुङ स्वास्थ्य चौकी, भुम्लीचोक स्वास्थ्य केन्द्र मातहत एम्बुलेन्स सेवा सञ्चालन हुँदै आएको छ । 

पालिकाभित्रका सबै वडालाई पायक पर्ने गरी एम्बुलेन्स सेवा सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले बताउनुभयो । यस कार्यले स्वास्थ्य संस्थामा पुगेर सुरक्षित रुपमा सुत्केरी हुन प्रोत्साहन हुने उहाँको भनाइ छ । 

"पालिकाभित्रका अशक्त, विपन्न, अपाङ्ग, भएका परिवारलाई पनि यो सेवाले राम्रो सन्देश जान्छ", उहाँले भन्नुभयो, "निशुल्क एम्बुलेन्सबारे गाउँपालिकाले सरोकारवालासँग एक चरणको अन्तर्क्रिया गरिसकेको छ ।"