• १६ भदौ २०८१, आइतबार

पहिरो पीडितको स्थायी बसोबासका लागि पहल सुरु

blog

हाल पहिरोका विस्थापित परिवार बस्दै आएको अस्थायी आवास स्थल । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिरोले विस्थापित भएका परिवारको स्थायी बसोबासका लागि पहल सुरु गरेको छ । हाल अस्थायी आवासमा बस्दै आएका पहिरो पीडित परिवारलाई स्थायी बसोबासको मिलाउन गाउँपालिकाले पहल सुरु गरेको हो ।

पहिरो पीडित परिवारको स्थायी बसोबासको प्रबन्ध मिलाउनेगरी गाउँपालिकाले पालिकाभित्रै उपयुक्त जग्गाको खोजी गर्न थालेको छ । गाउँपालिकाले सूचना जारी गर्दै जग्गा उपलब्ध गराउन न्यूनतम मूल्यसहित प्रस्ताव पेस गर्न जग्गादातालाई आह्वान गरेको छ । आवश्यक अर्थात् उपयुक्त जग्गाका लागि क्षेत्र तोक्दै गाउँपालिकाले १५ दिनभित्र प्रस्ताव पेस गर्ने सम्बन्धित जग्गाधनीलाई आह्वान गरेको हो ।

गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जारी गर्नुभएको सूचनामा गाउँपालिकाको वडा ३ साँघुस्थित लुकुवा खोला, कागते खोला, बाङ्गेलाम बस्ती र लुकुवा सडकभित्रका जग्गाधनीले प्रस्ताव पेस गर्न उल्लेख गरिएको छ । यस्तै वडा ४ को ताल, आहालडाँडा, हेलिप्याड, जुकेपानी मुहान र कँदेलेडाँडाभित्रका जग्गाधनीलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको छ।

गत असार २ गते गएको पहिरोका कारण उच्च जोखिममा परेका मैवाखोला गाउँपालिका–४ साँघुको ओदक टोलका ६२ परिवार, ताम्राङका दुई र वडा ३ साँघका एकसमेत ६५ परिवारलाई अस्थायी आवास निर्माण गरी पुनर्वासको व्यवस्था गरिएको छ । गाउँपालिकाले वडा ३ साँघुस्थित निर्माणाधीन रंगशालामा अस्थायी आवास निर्माण गरी पुनर्वासको प्रबन्ध मिलाएको हो ।

हाल अस्थायी आवासमा बस्दै आएका पहिरो पीडित परिवारलाई स्थायी बसोबासको प्रबन्ध गर्ने प्रक्रिया सुरु गरेको गाउँपालिकाका अध्यक्ष बिजयप्रकाश वनेमले जानकारी दिनुभयो । पहिलेकै बस्ती अर्थात् जग्गामा पुनः बस्न नमिल्ने भूगर्भविद्को सुझावलाई समेत दृष्टिगत गरी विस्थापित परिवारको स्थायी बसोबासको प्रबन्ध गर्नुपर्ने अपरिहार्य भएकाले प्रक्रिया अघि बढाइएको अध्यक्ष वनेमको भनाइ छ । 

जग्गाधनीहरुबाट आवश्यक जग्गा उपलब्ध भएपछि पहिरो पीडित परिवारको स्थायी बसोबास प्रबन्ध मिलाउन गाउँपालिकाले बाँकी प्रक्रिया सुरु गर्ने पनि उहाँले बताउनुभयो ।