• १३ साउन २०८१, आइतबार

भिजिट भिसामा विदेश जानेको गुनासो सम्बोधन गर्नुहोस् : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री, श्रम, मुख्यसचिवसहित सम्बन्धित मन्त्रालयका सचिवसँग छलफल गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, माघ ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँगको छलफलमा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै तत्काल सहज वातावरण सिर्जना गर्न भन्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि  सेटिङ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा  घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु, गराउनुहोला । जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला ।”

प्रधानमन्त्री प्रचण्डले पालिकास्तरसम्म गएर वैदेशिक रोजगारी र भिजिट भिसाबारे सचेतनामूलक कार्यक्रम गर्न र राष्ट्र र जनताको हितमा काम गर्नसमेत सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।