• १३ असोज २०८१, आइतबार

सुडानमा युद्धबाट ७४ लाख व्यक्ति विस्थापित

blog

खार्तूम, माघ १ गते । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट विस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ ।

सन् २०२३ अप्रिल १५ मा सुडानी सशस्त्र बल र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेसबिचको लडाइँ सुरु भएदेखि सुडानमा ७४ लाखभन्दा बढी मानिसहरू विस्थापित भएको मानवीय राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ । 

गत महिनामा सुडानमा विस्थापित मानिसहरूको सङ्ख्या करिब छ लाख ११ हजारले बढेको छ । विस्थापित हुनेमध्ये धेरैजसो गेजिरा र अन्य राज्यहरूबाट भर्खरै विस्थापित भएका व्यक्ति हुन् ।

बाली उत्पादन क्षेत्रहरूमा एसएएफ र आरएसएफ बिचको लडाइँको विस्तारले मध्य र पूर्वी सुडानमा मानवीय आवश्यकताहरूमा उल्लेखनीय वृद्धि गरेको संयुक्त राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ ।

असुरक्षा, लुटपाट, खराब नेटवर्क र फोनको समस्या, नगदको अभाव, र सीमित प्राविधिक र मानवीय कर्मचारीहरूले सहायताको वितरणलाई असर गरिरहेको राष्ट्र सङ्घीय कार्यालयले जनाएको छ ।

सन् २०२४ को जनवरी १४ सम्म सुडानमा मानवीय आवश्यकता र प्रतिक्रिया योजनाका लागि ३.१ प्रतिशत मात्र छुट्ट्याइएको छ ।

सुडानले १५ अप्रिल २०२३ देखि एसएएफ र आरएसएफबिचको घातक झडपहरू खेपिरहेको छ । युद्धमा अहिलेसम्म बाह्र हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय कार्यालयले अनुमान गरेको छ । रासस/सिन्ह्वा