नेपाल बहुजाति, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक मुलुक हो । त्यसैले यहाँका मानिसका आआफ्नै भाषा, धर्म, संस्कार, संस्कृति रहेका छन् । संवत्हरू पनि थरीथरीका छन् । विव्रmम संवत्, नेपाल संवत् आदि विभिन्न संवत् छन् । किराँत राईकोे किराँत येले दँः (किराँत येले संवत्) नामक संवत् रहेको छ । यो संवत्को आरम्भ माघ १ गतेदेखि हुन्छ । नयाँ वर्षारम्भको अवसरलाई किराँतहरूले नयाँ वर्ष र माघी पर्वको रूपमा मनाउँदै आएका छन् । प्राचीन किराँत राजवंशका पहिलो हाँःङ् (राजा) भनिएको यलम्बरले सुरु गरेको भनिएकै कारण किराँतहरू यस संवत्लाई येले दँः (येले संवत्) भन्ने गर्दछन्, जस अनुसार यस वर्ष (२०८०) को माघ १ गते येले संवत् ५,०८४ मा प्रवेश गरेको छ ।
किराँत राईले मान्दै आएको यो संवत् नेपालको प्राचीन राजनीतिक इतिहाससँग पनि जोडिको छ । यो संवत् किराँत वंशले नेपाल (काठमाडौँ उपत्यका) मा शासन गरेको समयदेखि नै सुरु भएको मानिन्छ । त्यसैले यो संवत् नेपालकै प्राचीन संवत् मान्न सकिन्छ । विभिन्न प्रमाणले यो संवत् प्राचीन भएको मान्न सकिन्छ तर यो संवत् २०६३ सालपछि मात्र खुला रूपमा प्रचारमा आउन सकेको हो । पहिले यस प्रकारको जातीय पहिचानका विषयलाई सहज रूपमा प्रचार प्रसार गर्न सक्ने अवस्था थिएन । प्राचीन संवत् भए पनि यसलाई राज्यले कानुनी मान्यता दिएको छैन ।
विगतको समयमा यस संवत्का सम्बन्धमा विवाद थियो । अहिले यो विवाद समाप्त भएको छ । मुख्य विवाद यो संवत्को सङ्ख्या घटाउनु पर्ने र बढाउनु पर्ने भन्ने थियो तर घटाउनु पर्ने आधारभन्दा पनि विभिन्न लिखत प्रमाणले यो संवत् बढाउनु पर्ने चाहिँ देखिएको छ । गोपाल राजवंशावलीको वर्णन अनुसार प्राचीन नेपाल (काठमाडौँ उपत्यका) मा किराँतहरूले द्वापरयुग समाप्त हुन लगभग ४४७ वर्ष बाँकी रहँदादेखि कलि संवत्को करिब १,५१६ सम्म जम्मा १९६३ वर्ष आठ महिना राज्य गरेको देखिन्छ । आजको दिनमा कलि संवत् ५,१२३ (विसं २०८० मा) रहेको हुँदा नेपालमा तेस्रो पटक राज्य गर्ने किराँत वंशको पहिलो राजा भनिएको एलम् अर्थात् यलम्बरको शासन आजभन्दा करिब ५,५७० वर्ष पहिले सुरु भएको देखिन्छ । यो हिसाबले २०८० साल माघ १ गतेदेखि येले संवत् ५,५७१ औँ वर्षमा प्रवेश गर्नु पर्ने हो तर यस वर्ष यो संवत् ५,०८४ मा मात्र प्रवेश गरेको भनिएको पाइन्छ । यसरी २०८० साल माघ १ गतेदेखि यो संवत् ५०८४ औँ वर्षमा प्रवेश गरेको मान्ने हो भने नेपालमा किराँत शासन सुरु भएको लगभग ४८६ वर्ष पछि मात्र यो संवत् सुरु भएको मान्नु पर्ने हुन्छ । यस अर्थबाट किराँत राजा यलम्बरको कालमा वा उनको देहान्तपछि यो संवत् सुरु गरिएको हो भन्न मिल्दैन ।
स्वामी प्रपन्नाचार्यको वर्णनलाई आधार मान्दा किराँतकालदेखि मल्लकाल समाप्त हुँदासम्म जम्मा ६,६१२ वर्ष बितेको देखिन्छ । यसमा मल्लकालपछि हालको समय २५५ वर्ष जोड्दा नेपालमा किराँत शासन आजभन्दा करिब ६,८६७ वर्ष पहिले सुरु भएको मान्नु पर्ने हुन्छ । यसमा किराँत राजा यलम्बरको ९० वर्ष शासन समाप्त भएपछि मात्र येले संवत् गणना सुरु गरिएको मानेर उल्लिखित ६,८६७ मा ९० वर्ष घटाउँदा पनि ६,७७७ वर्ष बाँकी रहन्छ । यस आधारबाट हेर्दा विसं २०८० को माघ १ गतेदेखि येले संवत् ६,७७८ औँ वर्षमा प्रवेश गर्नुपर्ने हो तर यसो पनि भएको देखिँदैन । संवत् घटाउने वा बढाउने विवादको विषय पेचिलो बन्दै गएको अवस्थामा अनुसन्धानको पाटो छँदै छ । यो संवत् हो र होइनको विवाद चाहिँ देखिँदैन । यसर्थ यो येले संवत् हो, त्यो पनि किराँतकै हो । यो संवत्को आरम्भ हरेक वर्ष विव्रmम संवत्को माघ १ गतेदेखि सुरु हुनेमा विवाद छैन ।
किराँत विशेष गरी राईहरूले नयाँ वर्षारम्भ भएको शुभ दिनलाई माघी पर्वको रूपमा मनाउँछन् भनेर माथि पनि भनियो । नयाँ वर्ष मनाउँदा तरुलका विभिन्न परिकार बनाएर खाने चलन छ । त्यसमा पनि वन तरुल नभई नहुने परिकार हो । पुस मसान्तकै दिन गाउँका युवा जङ्गलमा वन तरुल खोज्न जान्छन् । अनि माघेसङ्व्रmान्तिका दिन बिहान इष्टदेवको पूजा गर्छन् । वन तरुल पोल्छन् । मान्यजनबाट टीका थापेर आशीर्वाद लिन्छन् । तरुलको एक टुव्रmा काँचै खान्छन् र नयाँ वर्षको स्वागत गर्छन् । घर तरुल, पिँडालु, आलुलगायत पनि पकाएर खाने चलन छ । बिहानको समयमा तरुलको विभिन्न परिकार खाएर दिउँसो पुरुषहरू सिकार खेल्न जङ्गलतिर जान्छन् । महिलाहरू घरैमा केही सिपका काम गरेर बस्छन् । यस दिन खेतबारीको काम गर्न हुँदैन भन्ने मान्यता छ । सिकारमा गएका पुरुष बेलुका घरमा भेला भएपछि परिवारका सबै सदस्य एकसाथ बसेर मिठोमसिनो खान्छन् । हुन त माघी चाड किराँतले मात्र नभएर देशकै एक चाडको रूपमा स्थापित छ । अन्य जातिले तरुल, घिउ, चाकु खाएर यो चाड मनाउँछन् । यसरी येले संवत् र माघी चाड प्रकृतिसँग पनि सम्बन्धित रहेको पाइन्छ । माघको आरम्भदेखि हिउँदको चिसो मौसम पनि व्रmमशः घट्दै जाने साथै सूर्य पनि उत्तरायण हुँदै जान्छ । यसैले प्रकृतिपूजक किराँत राईको चाडपर्व, धर्म, संस्कार संस्कृति सबै प्रकृतिसँग नै जोडिएको पाइन्छ ।
देशमा रहेका यी विविध तथा सुन्दर सांकृतिक धरोहरलाई सदाका लागि बचाई राख्नु चुनौतीकै विषय हो । विदेशी संस्कृतिको प्रभावले गर्दा नयाँ पुस्तामा आफ्नो मौलिकताप्रति नकारात्मक भावना बढ्दै गएको पाइन्छ । यसले जातिगत मौलिकताहरू लोप हुने व्रmम बढ्दै छ । देशकै अमूल्य सम्पत्तिको रूपमा रहेका यस्ता विविध धर्म, भाषा, संस्कार संस्कृति, चाडपर्व तथा परम्परागत मूल्य मान्यता संरक्षण र संवर्धन गर्न सम्बन्धित जाति मात्र नभएर राज्यसमेत लाग्नु पर्ने देखिन्छ । राज्यबाट कसैलाई काखा र कसैलाई पाखा गर्नु हुँदैन । येले संवत् ५०८४ (माघ १, २०८०) को अवसरमा सबैलाई हार्दिक शुभकामना ।