• १० पुस २०८१, बुधबार

सत्य निरूपण विधेयक एमालेले टुङ्ग्याउन दिएन भनेर गलत प्रचार नगर्नुस् : सचेतक बर्तौला

blog

सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौला । तस्बिर : गोरखापत्र

काठमाडौं, पुस २६ गते । नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) एमालेले टुङ्ग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गर्नुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सचेतक बर्तौलाले एमालेले पीडितका आवाजहरू र बाहिर जनताका आवाजहरू बोलेकाले ती आवाजलाई पनि सुनेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले एमालेले असहमति जनाएका कुराहरूलाई लिएर सरकारले एमालेले काम गर्न दिएन भन्ने गलत प्रचार गरेको आरोप लगाउँदै सरकारले विधेयकहरू प्रक्रियागत रूपबाट अघि बढाउन सक्ने बताउनुभयो ।

उहाँले विधेयक निर्माण गर्दा टाउकोको मूल्य तोक्ने र तोकिनेहरू मिलेर विधेयक आफू अनुकूलताको बनाए भन्ने सन्देश बाहिर जान नदिनका लागि एमाले सचेत रहेको जानकारी दिनुभयो । उहाँले टिआरसीसँग सम्बन्धित विधेयक सहमतिबाटै टुङ्ग्याउन आवश्यक रहेको बताउनुभयो ।

‘‘यी विषयहरू हामी सहमतिमै टुङ्ग्याउन सक्छौँ । यदि भएन भने बिल निर्माणको आफ्नो प्रक्रिया छ । बिल निर्माणको आफ्नो प्रक्रियामा हाम्रा भनाइहरू रहन्छन्, यो कुरा फेरि पनि भन्छु तर मान्छेहरूलाई यति के नपरोस् भने हिजो टाउकोको मूल्य तोक्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुरजी पनि र तोकिने पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू पनि सरकारमा हुनुहुन्छ । सरकारबाट मिलेर बनाए भन्ने भ्रम जनता नपरोस् । त्यसमा हामी सचेत छौँ । गहन छलफल गरेर नै टुङ्ग्याऔँ । व्यवस्थित कानुन बनाउने कोणबाट नै हामीले सोचेरै जाऔँ ।,’’ सचेतक बर्तौलाले भन्नुभयो, ‘‘सबैको साझा विषय हो भन्ने ठाउँबाट बुझ्नुहोला । सरकारको तहबाट समाजमा उठेका मुद्दा प्रतिपक्षका बेन्चबाट आउँछन् भन्ने ठानिदिनुपर्छ । विधेयक निर्माणको प्रक्रियामा आफू अघि बढ्न सक्नुहुन्छ, एमालेले रोकिरहेको छ भन्ने प्रचार गर्दै हुनुहुन्छ, यो गलत छ ।’’  सचेतक बर्तौलाले विधेयक अब छिटो टुङ्ग्याउन आवश्यक रहेको बताउनुभयो ।