• २४ वैशाख २०८१, सोमबार

टेलिकम सेवाको मर्मत सम्भारलाई चुस्त बनाउनुपर्छ : मन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । फाइल तस्बिर

काठमाडौं, पुस २५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरूको मर्मत सम्भारलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार मन्त्रालयमा भर्चुअल माध्यमबाट नेपाल टेलिकमबाट रुकुम (पूर्व) को रुकुमकोट र रुकुम(पश्चिम) को मुसीकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल ट्रान्समिसन लिङ्क पुर्‍याएर फाइबर टु द होम(एफटिटिएच) सेवाको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।


मन्त्री शर्माले टेलिकमले आफ्नो सेवाको साथै गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले टेलिकमले आफ्ना सम्पूर्ण सेवाहरूको मर्मत सम्भारलाई पनि चुस्त दुरुस्त बनाउनुपर्ने जानकारी दिनुभयो । सेवाको मर्मतसम्भारलाई ध्यान दिन नसकेमा सेवाको गुणस्तरले मात्रै पनि काम नगर्ने भनाइ उहाँको थियो । उहाँले ग्राहक सेवालाई पनि ग्राहकमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।


मन्त्री शर्माले टेलिकमको ग्राहक सेवाको सम्बन्धमा गुनासाहरू रहेका भन्दै सो गुनासाहरूलाई सम्बोधन गर्ने क्रममा रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले नेपाल टेलिकमको ग्राहक सेवालाई प्रभावकारी बनाउनको निम्ति बिहान ७ देखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो । उहाँले यसलाई २४ घण्टा सेवामा पुर्‍याइन आवश्यक छलफल भइरहेको पनि बताउनुभयो ।

‘‘सूचना र प्रविधिका विविध क्षेत्रमा, विविध आयाममा विकास गर्छु भन्दै गर्दा दूरसञ्चार विकास भएन भने सम्भव हुने कुरा होइन रहेछ । त्यसकारण यसमा हामीले विशेष ध्यान दिनुपर्ने रहेछ । अप्टिकल फाइबरमा आधारित फाइबर टु द होमको जुन सेवा विस्तार गर्ने भनेर भनिरहेका छौँ यसले वास्तवमै सेवा बिस्तार त्यसबाट हुने नै भयो । तर गुणस्तर कायम गर्नु यसको अर्को विशेषता हो । अर्को सर्त पनि हो । त्यसकारण नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरूको मर्मत सम्भारलाई पनि चुस्त दुरुस्त बनाउने गरेर हामीले सोच्न जरुरी छ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘हामी विस्तार त गर्छौँ तर विस्तार गर्ने कुरालाई फेरि मर्मत सम्भारमा ध्यान दिन सकेनौँ भने हामीले जसरी कुनै ब्राण्डको सामान किन्दा ब्राण्ड राम्रो हो तर कस्टुमर केयर राम्रो छैन त्यसकारण नकिन्ने भन्छौँ । तर कस्टुमर केयर राम्रो भयो भने कम ब्राण्ड भएपनि सम्झौता गर्नपुग्छौँ । त्यसकारण नेपाल टेलिकमको ब्राण्ड राम्रो छ । क्वालिटी राम्रो छ । र कस्टुमर केयरप्रति केही गुनासाहरू छन् ।’’

उहाँले रुकुम (पूर्व) को रुकुमकोट र रुकुम(पश्चिम)को मुसिकोटमा फाइवर टु द होम सेवा पुर्‍याउँदा त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक विकास प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो । त्यस्तै सो क्षेत्रको रहनसहन र भेषभुषा लगायतका सबै सांस्कृतिक कुराहरूलाई राज्यको मूल प्रवाहमा ल्याउन समेत सहयोग पुग्ने बताउनुभयो ।

मन्त्री शर्माले फाइवर टु द होम सेवा हालसम्म देशका ७४ वटा जिल्लामा पुगिसकेको उल्लेख गर्नुहुँदै बाँकी रहेका हुम्ला र डोल्पा जिल्लामा यसै आर्थिक वर्षभित्र पुर्‍याइसक्ने बताउनु भयो । बाँकी रहेको अर्को जिल्ला मुगुमा भने आगामी आर्थिक वर्षभित्रमा पुर्‍याइसक्ने लक्ष्य लिइएको बताउनु भयो । उहाँले दूरसञ्चार सेवाको पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मतसम्भार र सेवाको वितरणलाई प्रभावकारी बनाएर १९ जिल्लालाई नमुना जिल्ला बनाउने बनाउने अघि टेलिकम अगाडी बढेको उल्लेख गर्नुभयो ।