काठमाडौं, पुस २५ गते । संसदीय समितिले सरकारले विभिन्न मुलुक र सरकारी सङ्घ सङ्गठनहरूसँग गरेको सन्धि सम्झौताहरूको पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिले सरकारलाई नेपाल सरकार पक्ष भई विभिन्न मुलुकहरू वा सरकारी सङ्घ सङ्गठनहरूसँग गरेको सन्धि सम्झौताहरू भएका मिति र सम्झौताको अवस्था संसद्ले अनुमोदन गरेका र अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
समिति सभापति विमला सुवेदीले समितिका निर्णय सुनाउँदै समिति सचिवालयलाई सो प्रतिलिपि उपलब्ध गराउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र भारत सरकारबिच भएको सम्झौताको पूर्णरुप समिति सचिवालयमा सात दिन भित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
‘‘भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारत सरकारबिच भएको सम्झौताको विषयहरू समिति समक्ष जानकारी गराउनुभएकोमा प्रधानमन्त्रीलाई आभार प्रकट गर्ने, भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र भारत सरकारबिच भएको सम्झौताको पूर्णरुप यस समिति सचिवालयमा सात दिन भित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।,’’ सभापति सुवेदीले भन्नुभयो, ‘‘नेपाल सरकार पक्ष भई विभिन्न मुलुकहरू वा सरकारी सङ्घ सङ्गठनहरूसँग सन्धि सम्झौताहरू सम्झौता भएका मिति र सम्झौताको अवस्था संसद्ले अनुमोदन गरेका र अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण यस समिति सचिवालयमा उपलब्ध गराउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने ।’’
समितिले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारत सरकारबिच भएको सम्झौताको विषयहरू समिति समक्ष जानकारी गराउनुभएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रीत आभार प्रकट गर्ने निर्णय पनि गरेको छ ।