• २५ वैशाख २०८१, मङ्गलबार

कर्णालीमा गठबन्धनको तीन गुणा बढी मतभार

blog

नवीन सुवेदी 

सुर्खेत, पुस २४ गते । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनअन्तर्गत कर्णालीमा तीनवटा स्थानका लागि निर्वाचन हुँदैछ । सोमबार सत्तारुढ गठबन्धन र नेकपा एमालेका गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

६ वर्षअघि कर्णालीबाट राष्ट्रिय सभा सदस्य बन्नुभएका भैरव सुन्दर श्रेष्ठ, नरपति लुवार र नन्दा चपाईँको फागुनमा पदावधि सकिँदैछ । जाजरकोटका श्रेष्ठ अन्य, कालिकोटका लुवार दलित र सुर्खेतकी चपाईँ महिला कोटाबाट राष्ट्रिय सभा सांसद बन्नुभएको थियो । तीनै कोटामा निर्वाचन हुन लागेको हो । 

गठबन्धनबाट नेपाली कांग्रेसका प्रदेश महामन्त्री कृष्ण रोकाया उम्मेदवार हुनुहुन्छ भने नेकपा (माओवादी केन्द्र) बाट विष्णु विक ‘विकल्प’ उम्मेदवार हुनुहुन्छ । यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट सावित्री मल्लले उम्मेदवारी दर्ता गराउनु भएको छ । रुकुम पश्चिमका रोकाया अन्य, कालिकोटका विक दलित र दैलेखकी मल्लले महिला कोटाका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो । 

मल्ल ०७४ मा नेकपा एमालेबाट नारायण नगरपालिकाको उपप्रमुखसमेत भएकी महिला नेत्री हुनुहुन्छ । पछि एमाले विभाजनपछि उहाँ समाजवादीतिर लाग्नुभएको थियो । माओवादीबाट उम्मेदवार बन्नुभएका विष्णुबहादुर विक कालिकोटका पुराना नेता हुनुहुन्छ । 

सुरुदेखि नै माओवादी आन्दोलनमा लाग्नुभएका उहाँ पार्टीभित्र इमानदार नेता मानिनु हुन्छ । उहाँ पनि सहिद परिवारबाट आउनु भएको हो । कर्णाली प्रदेश दलित मुक्ति मोर्चाको संयोजक हुँदै केन्द्रीय सचिव हुनुभएका उहाँले यसअघि पार्टीमा थारुवान, पश्चिम र भेरी–कर्णालीको कमाण्ड सम्हाल्नु भएको थियो ।

कांग्रेसका रोकाया भने यसअघि दुई पटक प्रत्यक्षतर्फको चुनावमा पराजित हुनुभएका व्यक्ति हुनुहुन्छ । उहाँ ०७० को संविधान सभा र एक पटक प्रदेश सभाको चुनावमा पराजित भएका हुनुभएको थियो । गठबन्धनको मतभार सङ्ख्या धेरै हुँदाहुँदै पनि यता एमालेले पनि तीनवटै सिटमा उम्मेदवार खडा गरेको छ । महिला कोटातर्फ हुम्लाकी विमलाकुमारी शाही अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराउनु भएको छ । 

कुन दलको मतभार कति ? 

मतभारको सङ्ख्या हेर्दा कर्णालीमा सत्तारुढ गठबन्धनको विजयी हुने निश्चित देखिन्छ । प्रदेश सभा अन्तर्गत ४० सिट छ भने ७९ वटा स्थानीय तहमा नगरप्रमुख-उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष गरी १५८ वटा जनप्रतिनिधि छन् । यद्यपि जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंह र दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको निधन भएकाले मतदान गर्ने पालिकाका जनप्रतिनिधिको सङ्ख्या १५६ रहेको छ ।

प्रदेश सभा र स्थानीय तहको गरी १९६ जना मतदाता कायम भएका छन् । स्थानीय तह प्रमुख÷उपप्रमुख र प्रदेश सभा सदस्यहरू मतदाता हुने यो निर्वाचनअन्तर्गत प्रदेश सभा सदस्यको ५३ र स्थानीय तह प्रमुख÷उपप्रमुखको १९ मतभार तोकिएको छ । सो अनुसार कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २ हजार १२० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार २ हजार ९६४ गरी जम्मा ५ हजार ८४ मतभार कायम हुनेछ ।

प्रदेश सभातर्फ सत्तारुढ गठबन्धनसँग २९ मतदाता सङ्ख्या छ । कांग्रेस एक्लैसँग १५ (स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही कांग्रेसमा फर्किएसँगै), माओवादीसँग १३ र समाजवादीका १ सांसद छन् । यो हिसाबले गठबन्धनको मतभार सङ्ख्या एक हजार ५३७ छ । 

स्थानीय तहतर्फ कांग्रेससँग ५९ जना मतदाता छन् । निधन भएका नलगाडका उपप्रमुख र महावुका अध्यक्ष दुवै कांग्रेसबाटै निर्वाचित थिए । तर, कांग्रेसकै बागीमा रूपमा रहेका जुम्लाको चन्दनाथ नगरपालिकाका मेयर राजुसिं कठायत र चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही कांग्रेसमै फर्किएपछि कांग्रेसका पालिका प्रमुख र उपप्रमुखको सङ्ख्या ५९ नै कायम छ । 

यस्तै, माओवादीबाट निर्वाचित पालिका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षको सङ्ख्या ४९ रहेको छ भने एकीकृत समाजवादीको १० जना छन् । गठबन्धनसँग पालिकातर्फ ११८ मतदाता सङ्ख्या र २ हजार २४२ मतभार सङ्ख्या छ ।  प्रदेश सभामा १० सांसद रहेको एमालेको मतभार सङ्ख्या ५३० छ ।

प्रदेशमा एक जना राप्रपाका सांसद पनि छन् । नेकपा एमालेसँग पालिकाका प्रमुख र उपप्रमुख गरी ३५ मतदाता सङ्ख्या छ भने ६६५ मतभार सङ्ख्या छ । 

सत्तारुढ गठबन्धनको प्रदेशतर्फ १ हजार ५३७ र पालिकातर्फको २ हजार २४२ मतभार जोड्दा ३ हजार ७७९ हुन्छ भने एमालेको पालिका र प्रदेश सभागरी १ हजार १९५ मतभार सङ्ख्या रहेको छ । मतभारको हिसाबले गठबन्धनको मतभार सङ्ख्या एमालेको भन्दा तीन गुणा बढी रहेको छ । राप्रपालाई समेत साथमा लिए पनि एमालेले चुनाव जित्न सक्ने अवस्था रहँदैन ।