• १२ साउन २०८१, शनिबार

कपिलवस्तुका वनमा बाघ रहेको औपचारिक पुष्टि

blog

कपिलवस्तुको पश्चिम दक्षिण क्षेत्रमा क्यामराले कैद गरिएको पाटे बाघ । तस्बिर सौजन्य: तराई भू–परिधि (ताल) कार्यक्रम बाँके

जानु पाण्डे 

कपिलवस्तु, पुस २० गते । कपिलवस्तुमा बाघ भएको औपचारिक पुष्टि भएको छ । बाघ र अन्य स्तनधारी वन्यजन्तुको अवस्था थाहा पाउन राखिएको क्यामरा ट्यापिङ प्रविधिबाट बाघको तस्बिर खिचिएको छ । 

जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा बाघ फेला परेको तराई भू–परिधि (ताल) कार्यक्रम बाँकेका प्रमुख लक्ष्मण प्रसाद पौडेलले बताउनुभयो । बाघ फेला परेको स्थानको विषयमा थप विवरण र फोटो कार्यक्रमको समापन पछि सार्वजनिक गरिने पौडेलले बताउनुभयो ।  

ताल परियोजनाले पुस ४ गते देखी कपिलवस्तु, दाङ र अर्घाखाँचीका वनमा क्यामरा ट्यापिङ जडान गरिएको थियो । दाङको गडवा र राप्ती गाउँपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिका र कपिलवस्तुको विजय नगर गाउँपालिका, शिवराज नगरपालिका र बुद्ध भूमि नगरपालिकाको वडा नम्बर ९ मा क्यामरा राखिएको थियो । हरेक २ किलोमिटर क्षेत्रमा एक क्यामरा राखिएको छ । तिन जिल्लाका ५६० वर्ग किलोमिटर क्षेत्रफलमा १४२ क्यामराबाट वन्यजन्तुको अवस्था अध्ययन गरिएको छ । 

बाटो, नदीको तिर, फायर लाइन, खुला स्थान, डाँडा, पानीको स्रोत भएको लगायतका स्थानमा क्यामरा राखिएका छन् । एक महिना सम्म क्यामरा राखी अध्ययन गरिने छ । वन्यजन्तु ओहोरदोहोर गर्ने सम्भावना भएका स्थानलाई प्राथमिकता दिँदै बाटोदेखि ४/५ मिटर दायाँबायाँ र भुईँदेखि ४५ देखि ६० सेन्टिमिटर माथि रूखमा र रुख नभएका स्थानमा लौरो गाडेर क्यामरा राखिएको डिभिजन वन कार्यालय गौतम बुद्ध (कपिलवस्तुका) वन अधिकृत कल्याण सापकोटाले बताउनुभयो । 

सेन्सर जडित क्यामरामा हावा र तापक्रमसँग हुने परिवर्तन सँगै फोटो खिच्ने प्रविधि रहेको छ । क्यामरा लगाएको पहिलो दिन मै चितुवाको फोटो खिँचेको बताउनुभयो । बुद्ध भूमि नगरपालिका-९ गब्दहवा बस्ती नजिक चितुवा देखिएको थियो । साँझ ७ बजे क्यामराले चितुवाको तस्बिर खिचेको थियो ।