• २७ पुस २०८१, शनिबार

आजको दिन विद्युत व्यापारका दृष्टिले कोशेढुङ्गा : प्रधानमन्त्री

blog

रामेछापको सुनापति गाउँपालिकामा निर्माण भएको प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर: प्रधानमन्त्रीको सचिवालय

रामेछाप, पुस १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजबाट १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको बताउनुहुँदै आजको दिन विद्युत व्यापारका दृष्टिले कोशेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभएको छ ।

बिहीबार दिउँसो रामेछापको सुनापति गाउँपालिकामा निर्माण भएको प्रशासकीय भवनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमतिले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को हुनेमा जोड दिनुभएको हो ।


कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “मेरो भारत भ्रमणका क्रममा नै नेपालले दश वर्षमा दश हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्ने सम्झौता भएको थियो । भारतका विदेश मन्त्रीको नेपाल भ्रमणले अब नेपालले विद्युत निर्यात गर्ने ठोस सम्झौता भएको छ । यो आफैँमा ऐतिहासिक उपलब्धि हो । भारतमा मात्रै होइन, बङ्गलादेशसँग समेत विद्युत निर्यातको ढोका खुलेको छ । अब भारतको ग्रिड प्रयोग गरी बङ्गलादेशसँग विद्युत व्यापार हुनेछ ।’’

संसद्को प्रभावकारी सञ्चालन र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्गोमा पुर्‍याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमति चाहेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।


प्रधानमन्त्रीले भन्नुभयो, “यो सत्ता गठबन्धन सानो दुखले बनाएको गठबन्धन होइन, त्यसैले गठबन्धन सुदृढ गर्न हामी सबै दृढ छौँ । तर कतिपय विषयमा राष्ट्रिय सहमति जरुरी हुन्छ, त्यसले मुलुक र लोकतन्त्रको हित नै गर्छ । अहिले हामीले सदनको प्रभावकारी सञ्चालन र सङ्क्रमणकालीन न्यायसम्बन्धी काम टुङ्गाउन राष्ट्रिय सहमति चाहेका छौँ ।’’

प्रधानमन्त्रीले रामेछाप जिल्लामा सुनापति गाउँपालिकाले भौतिक विकासमा राम्रो प्रगति बनाउँदै प्रशासनिक भवनअनुरूपको सेवा प्रवाह, शिक्षा–स्वास्थ्यको विकास, कृषि–पर्यटनको प्रवर्द्धन र रोजगारी सिर्जनामा केन्द्रित हुन जनप्रतिनिधिहरूलाई अपिल गर्नुभयो ।