• १३ असोज २०८१, आइतबार

मेलम्चीको पानी छिटो देऊ : पूर्वप्रधानमन्त्री खनाल

blog

काठमाडौँ, पुस १६ गते । पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौँवासीलाई आवश्यक खानेपानी आपूर्ति गर्न सरकारसँग आग्रह गर्नुभएको छ । सोमबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा छिटो वितरण गर्न माग गर्दै खनालले लिमिटेडलाई ज्ञापनपत्र बुझाउनुभएको छ । 

उहाँले काठमाडौँमा पानीको सङ्कट दिनानुदिन बढेर गइरहेको बताउनुभयो । उहाँले सरकारले पानीको आपूर्ति विस्तार गर्न नसक्दा समस्या झनै बढेर गएको बताउनुभयो । उहाँले पानीको आपूर्ति गर्ने कुरामा सरकारले गम्भीरतापूर्वक लि चाँडोभन्दा चाँडो मेलम्चीको पानी वितरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘काठमाडौँमा पानीको सङ्कट दिनानुदिन बढेर गइरहेको छ । एकातिर जनसङ्ख्या बढिरहेको छ, बस्ती विस्तार भइरहेको छ । तर पानीको सप्लाई गर्ने क्षमतालाई सरकारले पूरा गर्न सकिरहेको छैन । मेलम्चीका कथा तीन दशक अघिदेखि सुन्दै आइरहेका छौँँ । तर अहिलेसम्म पूरा हुन नसक्नु देशको लज्जाको विषय हो । अहिलेसम्म पनि पूरा नहुँदा काठमाडौँमा पानीको हाहाकार भइरहेको छ । पानी मान्छेको जीवन हो । पानीको आपूर्ति गर्ने कुरामा सरकारले गम्भीरतापूर्वक लिनुपर्छ, युद्धस्तरमा काम गर्नुपर्छ ।’’

उहाँले भन्नुभयो, ‘‘केयुकेएलबाट सप्ला भइरहेको पानीले हाम्रो आवश्यकता परिपूर्ति भइरहेको छैन । चाँडोभन्दा चाँडो मेलम्चीको पानी यसमा जोड्नुपर्ने हुन्छ । यो पुरानो सिस्टम थोत्रो भएकोले नयाँ सिस्टम बनाइएको छ, जोडिएको छैन, जोडियोस् । मेलम्चीको पानी चाँडोभन्दा चाँडो युद्धस्तरमा काम गरेर सरकारले जनतालाई खानेपानीको बन्दोबस्त गर्न सक्नुपर्छ । त्यसो गर्न नसकिए काठमाडौँ विस्फाेट हुनसक्ने अवस्था छ । मान्छेले आफ्नो जीवन बचाउन नपाए जे पनि गर्नसक्छ, यो कुरा सरकारले बुझोस् । यो चेतावनी र आग्रह हो ।’’

पूर्वप्रधानमन्त्री खनालले मान्छेले आफ्नो जीवन बचाउन नपाए जे गर्न पनि बाध्य हुने अवस्थालाई सरकारले बुझ्न जरुरी रहेको बताउनुभयो ।