• ९ मंसिर २०८१, आइतबार

अर्थतन्त्र गतिशील हुने प्रक्षेपण

blog

काठमाडौँ, पुस १५ गते । मुलुकको अर्थतन्त्र गतिशील हुँदै जाने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्नुभएको नेपालको अर्थव्यवस्थाबारे प्रतिवेदनले आन्तरिक र बाह्य सूचकमा आएको सुधारका कारण आगामी अर्थतन्त्र गतिशील हुँदै जाने देखाएको हो । 

स्रोत व्यवस्थापनमा देखिएको दबाब क्रमशः न्यून हुँदै गएको र बाह्य क्षेत्र सन्तुलन कायम रहिरहनुका साथै थप सबल एवं सुदृढ हुँदै जानुले आगामी दिनमा मुलुकको अर्थतन्त्र गतिशील हुँदै जाने दाबी प्रतिवेदनमा गरिएको छ । 

चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आयमा २६.४ प्रतिशतले वृद्धि रहेको, शोधनान्तर स्थिति र चालु खाता दुवै क्रमशः एक खर्ब ४७ अर्ब र ९६ अर्बले बचतमा रहेको, विदेशी विनिमय सञ्चिति ३६.१ प्रतिशतले बढेकाले अर्थतन्त्र सुधारतर्फ गएको प्रतिवेदनमा उल्लेख छ । वित्तीय क्षेत्रमा विगतमा देखिएका तरलतालगायतका समस्या पछिल्लो समयमा नरहेको हुँदा यस क्षेत्रसमेत सुदृढ हुँदै गएको पनि प्रतिवेदनमा समेटिएको छ । 

अर्थमन्त्रीको कार्यभार सम्हाल्दा आर्थिक वृद्धि १.८६ प्रतिशत रहेकामा चालु आवमा एसियाली विकास बैङ्कको प्रक्षेपण अनुसार पनि ४.३ रहने अनुमान प्रतिवेदनमा गरिएको छ । सरकारको लक्ष्य छ प्रतिशत भए पनि हालको अनुमान अनुसार पाँच प्रतिशतभन्दा माथि रहने दाबी अर्थमन्त्रीद्वारा पेस गरिएको प्रतिवेदनमा छ । 

प्रतिवेदनमा अर्थमन्त्रीले अघिल्लो वर्ष र आफूले कार्यभार सम्हालेयता अर्थतन्त्रमा देखिएको परिवर्तनलाई सूचकमै राखिएको छ । जस अनुसार २०७९ फागुन मसान्तसम्ममा राजस्व वृद्धिदर १४.९ प्रतिशतले नकारात्मक रहेकामा २०८० मङ्सिर मसान्तमा सो ११.१८ प्रतिशतले वृद्धि भएको उल्लेख छ । पछिल्लो डेढ वर्षमा राजस्व परिचालनमा देखिएको शिथिलता घट्दै गई क्रमशः सुधारोन्मुख हुँदै जानुले आगामी महिनामा स्रोत व्यवस्थापनमाथिको दबाब कम हुँदै जाने र समग्र अर्थतन्त्रसमेत गतिशील हुँदै जाने अपेक्षा गरिएको छ । त्यस्तै २०७९/८० को मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चिति वृद्धिदर ३.२ प्रतिशतले नकारात्मक रहेकामा २०८० कात्तिक मसान्तमा ३२.८ प्रतिशतले वृद्धि भएको जनाइएको छ । 

गत आवको फागुनसम्म आठ महिनाको अवधिमा सङ्घीय सरकारको राजस्व असुली १४.९ प्रतिशतले घटेको थियो भने अन्य प्राप्ति तथा राजस्वसहित सङ्घीय आयसमेत ७.५ प्रतिशतले घटेको थियो । त्यस अवधिमा सङ्घीय सरकारको खर्च १५.४ प्रतिशतले बढेको र सङ्घीय आय १४.५ प्रतिशतले घटेको हुँदा सङ्घीय सञ्चित कोषमा अधिक दबाब सिर्जना भएको थियो । त्यस बखत खर्च र आयबिचको अन्तर नै करिब एक खर्ब ६१ अर्ब रुपियाँ रहेको हुँदा सार्वजनिक ऋण परिचालनमा समेत दबाब सिर्जना भएको थियो प्रतिवेदनमा उल्लेखमा छ ।   

आवको फागुनसम्ममा शोधनान्तर स्थिति एक खर्ब ४८ अर्ब रुपियाँले बचतमा रहेको भए पनि चालु खाता भने ४४ अर्ब रुपियाँले घाटामा रहेको थियो । विप्रेषण आप्रवाह २५.३ प्रतिशत र विदेशी विनिमय सञ्चिति १९.७ प्रतिशतले बढेको थियो । समग्रमा त्यस बखत बाह्य क्षेत्र सुधारतर्फ केन्द्रित भए पनि सार्वजनिक वित्तका परिसूचकहरू भने कमजोर रहेका थिए र अर्थतन्त्रलाई गतिशील बनाउने कार्य जटिल र चुनौतीपूर्ण रहेको उल्लेख छ । 

२०७९ फागुनपछि नौ महिनाको अवधिमा भने अधिकांश परिसूचक सुधारोन्मुख रहेका कारण अर्थतन्त्रमा देखिएको शिथिलता क्रमशः कम हुँदै गएको छ र आगामी दिनमा अर्थतन्त्र गतिशील हुँदै जाने स्पष्ट सङ्केत देखिएको प्रतिवेदनमा उल्लेख छ । चालु आवको पहिलो पाँच महिनामा राजस्व परिचालन ११.२ प्रतिशतले वृद्धि भएको छ भने अन्य प्राप्ति र राजस्वसहित सङ्घीय सरकारको आय ७.६ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा खर्च र आयबिचको अन्तर करिब ७१ अर्ब रुपियाँ रहेको हुँदा तुलनात्मक रूपमा स्रोतमाथिको दबाब कम हुँदै गएको छ । यस अवधिमा सङ्घीय सरकारको खर्च ४.१ प्रतिशत र आय ७.६ प्रतिशतले बढेको हुँदा खर्च र आय दुवैमा बढोत्तरी भएको छ । 

अर्थतन्त्रलाई गतिशील बनाउन गरिएका पहलमा लगानीको वातावरण निर्माण गर्न प्रक्रिया सरलीकरण गर्दै लगिएको जनाइएको छ । यस्तै एक सय रुपियाँमा कम्पनी खोल्न सकिने व्यवस्था  गरिएको निजी क्षेत्रको मनोवल वृद्धि गर्न निजी क्षेत्रसँग निरन्तर संवाद गरिएको, पुँजीगत खर्चको प्रभावकारिता बढाउन पहल गरिएको, मौद्रिक नीति लचिलो पार्दै लगिएको, लगानीको लागत कम गर्न वित्त र मौद्रिक नीतिमार्फत पहल गरिएको जस्ता सुधारका प्रयास समेटिएको छ । 

तरलता प्रवाहमा सहजीकरण गर्न स्थानीय तहको निक्षेप गणना गर्ने सुविधा दिइएको, जग्गाको कित्ताकाट फुकुवा गरिएको र उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।