• २४ वैशाख २०८२, बुधबार

वडामै योजना सम्झौता

blog

म्याग्दी समाचारदाता 

म्याग्दी, पुस १३ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्ने कार्यलाई निरन्तरता दिएको छ । गाउँपालिकामा रहेका आठ वटै वडामा पुगेर योजना सम्झौता गर्ने कार्य अनुरूप गाउँपालिकाको १ नम्बर वडाको दोवामा पुगेर सम्झौता गरेको छ । वडा नम्बर ८ राम्चे, ७ हिस्तानपछि वडा नम्बर १ दोवामा योजना सम्झौता भएका हुन् । त्यसपछि क्रमशः वडा नम्बर २, ३, ४ र ५ मा पनि योजना सम्झौता शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा कर्मचारी, प्राविधिक र बैङ्कका कर्मचारीसहितको टोली योजना सम्झौताका लागि वडा नं. १ को दोवामा पुगेका थिए । गाउँपालिकाले वडा कार्यालयमा योजना सम्झौताको व्यवस्था मिलाएपछि उपभोक्ताको समय र पैसा खर्च बचत भएको अन्नपूर्ण गाउँपालिका–१ दोवाका अध्यक्ष दिलीपकुमार गर्बुजाले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाका बासिन्दालाई गाउँपालिकाको केन्द्र जान, योजना सम्झौता गरेर घर फर्कनका लागि दुईदेखि तीन दिनसम्म लाग्ने गरेको थियो तर वडामै योजना सम्झौता गर्न पाउँदा समय र पैसाको बचत भएको छ ।”

योजना सम्झौता र बैङ्क खाता खोल्नका लागि उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष गाउँपालिकाको कार्यालयसम्म जान आउन गाडीभाडा, खाना, खाजालगायतको खर्च व्यक्तिगत रूपमै बेहोर्नुपर्ने हुन्थ्यो । गोविन चोचाङ्गेले गाउँमै गाउँपालिका एवं बैङ्कको टोली आएर सम्झौता गर्दा समयसँगै पैसाको बचत भएको बताउनुभयो ।

 सम्झौता गर्नका लागि गाउँपालिका जानुपर्दा कुनै कागजात नमिलेपछि फर्किएर सिफारिस बनाउन वडामा आउने जाने गर्दा झन्झट हुन्थ्यो तर वडामै सम्झौता गर्नका लागि गाउँपालिकाको इन्जिनियर, हाकिम अनि बैङ्कका कर्मचारी पनि आउँदा निकै सहज भएको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले दोवामा चालु आर्थिक वर्षमा छनोट भएका योजना सम्झौता गरिएको जानकारी दिनुभयो । 

घोडेटो बाटो तथा रेलिङ निर्माण, भुमेथान रेलिङ तथा सिँढी निर्माण, वडा कार्यालयको शौचालय निर्माण, खेलमैदान मर्मत तथा ढलानलगायतको योजना सम्झौता भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वेक्षण र समिति गठनको काम सकिएपछि पदाधिकारीहरूलाई वडा कार्यालयमा बोलाएर योजना सम्झौता गर्नुका साथै योजना कार्यान्वयनको नीतिगत, व्यवस्थापकीय व्यवस्थापनसम्बन्धी तालिम पनि दिएका हौँ ।” आठवटै वडामा पुगेर योजना सम्झौता र उपभोक्ता समितिका पदाधिकारीहरूलाई प्रशिक्षण दिइने गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा १५० वटा योजना कार्यान्वयन गर्दै छ । 

तीन लाख रुपियाँभन्दा कम बजेटका योजना तथा कार्यक्रमको सम्झौता गर्ने अधिकार वडा सचिवलाई नै प्रत्यायोजन गरिएको र त्योभन्दा ठुला योजना गाउँपालिकाले सम्झौता गर्ने कार्यविधि भएकाले पनि गाउँपालिकाको टोली वडामै आएर सम्झौता गरेको वडा सचिव मनकुमार गर्बुजाले बताउनुभयो । वडामै योजना सम्झौता गर्ने र अभिमुखीकरण गर्दा बेरुजु आउन नदिने, प्राविधिक र व्यवस्थापकीय त्रुटि न्यूनीकरण गर्न उपभोक्ता समितिलाई सहज र सजिलो हुने अपेक्षा गरिएको उहाँको भनाइ थियो । 

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, योजना अधिकृत हरिकृष्ण आचार्य, इन्जिनियर ईश्वर भण्डारी एवं बैङ्कका कर्मचारीसहितको टोली योजना सम्झौता शिविर लिएर वडा नम्बर १ दोवा पुगेको थियो । शिविरको अवसरमा गरिबी पहिचान परिचयपत्रसमेत वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताउनुभयो ।