• ९ मंसिर २०८१, आइतबार

भारी बोकेरै घरखर्चको जोहो

blog

पिथौरागढ (भारत), पुस १२ गते । बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा भारी बोक्दै आउनुभएको छ । उहाँ भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आउनुभएको छ । पिथौरागढको सिमलगैर बजारमा मजदुरी गर्दै आउनुभएका बोहरा भारी बोकेर पाउने रकमले घरखर्चको जोहो गर्न सहज भएको बताउनुहुन्छ । 

“नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिकै काम पाइन्छ”, नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दैआउनुभएका बोहराले भन्नुभयो । उहाँले केही वर्ष भारतको दिल्ली र बेङ्लुरुमा पनि मजदुरी गर्नुभयो । पिथौरागढमा भारी बोक्ने बोहरा एक्लै मात्र होइनन् । उहाँले जस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका सयौँ नेपाली भारतीय सहरमा मजदुरी गरेरै घरखर्च चलाउँदै आएका छन् । “यहाँ भारी बोक्ने काम प्रायः नेपालीले मात्र गर्ने गरेका छन्”, बोहराले भन्नुभयो । 

नेपालमै पसिना बगाउने आफ्नो रहर भएपनि बाध्य भएर विदेशी भूमिमा भारी बोक्नु परेको दुखेसो गर्नुभयो । “गाउँमा पहिलाभन्दा अहिले रोजगारी त पाउने गरेको छ, तर मजदुरी गर्न पनि राजनीतिक भेदभाव हुने गरेको छ”, बोहराले भन्नुभयो । भारतमा पनि मजदुरी गर्न सहज नभएको उहाँको भनाइ छ । “कुनै दिन काम नपाएर भोकै सुत्नुपर्ने बाध्यता पनि छ”, उहाँले भन्नुभयो-“यहाँ पनि कहिले काम पाइन्छ कहिले पाइँदैन, काम गर्न आउने नेपालीको सङ्ख्या अत्यधिक छ ।” 

बोहरासँगै रोजगारीका लागि आएका तीन जना मिलेर दुई हजार भाडा तिरेर कोठा भाडामा लिएर बोहरा बस्दै आउनुभएको छ । मजदुरी गर्न आउने जाने क्रम चलिरहन्छ । उनीहरूले घरको खेतीपाती पनि आफैले गर्नुपर्ने बाध्यता छ । “यहाँको कमाइले लत्ताकपडा लगेर घर जान्छौँ”, बोहराले भन्नुभयो, “पैसा अभावले छोराछोरीलाई स्कुल पढाउन सकेको छैन ।” 

बैतडीको पुर्चाैडी नगरपालिका-८ मल्लादेहीका परमानन्द जोशी पनि रोजगारीका लागि पिथौरागढ पुग्नुभएको छ । उहाँ खेतीपातीको काम सकेर रोजगारी खोज्दै पिथौरागढ पुग्नुभएको हो । “मजदुरी गरेबापत दैनिक छ सय पाइन्छ”, जोशीले भन्नुभयो, “घरबाट आएको केही दिनमात्रै भयो ।” उहाँले ४० वर्षदेखि भारतमा मजदुरी  गर्दै आएको बताउनुभयो । स्वदेशमा परिवार पाल्नका लागि कुनै सीप नचलेपछि बाध्य भएर बिदेसिनुपरेको उहाँले गुनासो गर्नुभयो । जोशीका तीन छोरा छन् । आर्थिक अभावकै कारण उनीहरूलाई  पढाउन नसकेको उहाँ बताउनुहुन्छ ।

“एउटा छोरा रोजगारीका लागि भारतकै बैङ्लुरु गएको छ । दुई छोरा घरमै छन्”, जोशीले भन्नुभयो, “छोराले पनि नेपालमा रोजगारी पाउन सकेनन् ।” पिथौरागढको बजार पस्दा घरदेश छाडेर मजदुरी गरिरहेका सयौँ नेपाली भेटिन्छन् । तीस वर्षअघि सुदूरपहाडका नेपाली पिथौरागढ पुगेर घिउ बेच्थे । घिउ बेचेर नुन र लत्ताकपडा किन्थे । पहिले वस्तु र बस्त्रको व्यापार हुन्थ्यो । अहिले पसिनाको व्यापार चलेको छ । 

बैतडीको पुर्चाैडीका उत्तमसिंह धामीको पनि उही बाध्यता छ । “यहाँ मजदुरी गरेर घरखर्चको जोहो गर्न थालेको ३५ वर्ष भयो”, धामीले भन्नुभयो, “छ महिना स्वदेशमा घरखेतको काम गरेर छ महिना यहाँ मजदुरी गर्न आउँछौँ ।” बैतडीमा रहेको फलाम खानी उत्खनन गरे आफूहरूले घर नजिकै रोजगारी पाउन सक्ने उहाँको भनाइ छ । “हाम्रो देशमा रोजगारी पाउने धेरै सम्भावना छन् । मेरो जिल्ला बैतडीमा फलाम खानी छ । सरकारले उत्खनन त गर्नुपर्‍यो”, उहाँले भन्नुभयो, “सरकारीस्तरबाट स्वदेशमै रोजगारीका लागि पहल नभए अब आउने पुस्ता पनि हामी जस्तै परदेशमा भारी बोक्न बाध्य हुनेछन् ।” 

पिथौरागढको पुरानो नाम ‘सोर’ हो । कर्णाली नदीमा पुल बन्नु अघिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक नुन लिन पिथौरागढ नै पुग्ने गरेका थिए । अहिले पनि उपचार र किनमेलका लागि उनीहरू पिथौरागढ धाउँछन् । पिथौरागढ बजार क्षेत्रमा पुग्दा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सयौँ नेपाली भारी बोक्दै गरेका भेटिन्छन् । रासस