• २० असोज २०८१, आइतबार

टुँडिखेलमा तीन दिने ल्होसार महोत्सवको तयारी

blog

पत्रकार सम्मेलनमा तमु ल्होसार कार्यक्रमबारे जानकारी गराउँदै आयोजकहरू । तस्बिर : केशब गुरुङ

केशब गुरुङ 

काठमाडौं, पुस ११ गते । गुरुङ जातिले आफ्नो प्रमुख पर्व ल्होसार पुस १५ गते धूमधामका साथ मनाउने तयारी गरेको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी ल्होसार तयारी पूरा भएको आयोजकले जनाएको हो । 

तमु थातथलोको मौलिक पहिचानको संरक्षण र सरकारी कामकाजी भाषा तमु भाषा घोषणाका लागि तमुवानको आन्दोलन भन्ने मूलनाराका साथ  काठमाडौँको टुँडिखेलमा पुस १३ देखि १५ गतेसम्म भव्य रूपमा महोत्सव मनाउन लागिएको तमु ल्होसार मूल आयोजक समितिका महासचिव रामबहादुर तमुले जानकारी गराउनुभयो । गुरुङ समुदायले हि ल्हो (बिरालो वर्ग) को बिदाइ गरी मुप्री ल्हो (गरुड वर्ग) को स्वागत गर्दै तमु ल्होसार २०८० मनाउन लागेको हो । 

गुरुङ समुदायले हरेक वर्ष पुस १५ गते नयाँ वर्षका रूपमा मनाउने गर्दछ ।

विगतका वर्षझैँ यस पटक पनि काठमाडौँको टुँडिखेलमा हजारौँ तमुलगायत अन्य जातिको पनि उपस्थितिमा धूमधामका साथ ल्होसार मनाउने तयारी गरेको छ । 

महासचिव तमुले भन्नुभयो, “पुस १३ गते खुल्ला लोकदोहोरी प्रतियोगिता, पुस १४ गते खेलकुद कार्यक्रम तथा हि ल्हो (बिरालो वर्ग) को बिदाइ गर्दै  मुप्री ल्हो (गरुड वर्ग) वर्षमा सबैको शुभ होस् भनी आफ्ना परम्परागतअनुसार खेगी (पुरोहित) हरू, मच्यु, क्ल्हेप्री, वोन्पो लम र लामाद्वारा राति १२ बजेसम्म दुःख, दोखलोको ग्रहदशा शान्तिपूजा गरी पुस १५ गते बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गर्ने तथा पौष १५ गते बिहान ९ बजे वसन्तपुरबाट झाँकी सुरु भई टुँडिखेल कार्यक्रम स्थलमा पुगी दिनको १२ बजे कार्यक्रमको समुद्घाटन समारोह हुनेछ । दिनको ३ बजे पछि सांस्कृतिक कार्यक्रम हुनेछ ।"